महोत्तरी, । पुसको कठ्याङ्गिदो जाडोमा न्यानो कम्बल पाएपछि धार्मिक नगरी मटिहानीका साधु र मोल्वीले राहत महसुस गरेका छन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका साधु, पीरबाबा मजारका फकिर र मस्जिदका मोल्वीले न्यानो कम्बल पाएपछि राहत महसुस गरेका हुन् । साधु, फकिर र मोल्वीलाई मटिहानी नगर कार्यपालिकाको कार्यालयले कम्बल वितरण गरेको हो ।

“हामीले दुई दिनदेखि साधु, फकिर र मोल्वी (इस्लाम धर्म गुरु) को खोजी गर्दै कम्बल दिन थालेका छौँ, मङ्गलबारदेखि आजसम्म ६० जनालाई कम्बल दिइएको छ”, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले भने । कम्बल पाउनेमा मठका ४० साधु, मजारका फकिर र नगरक्षेत्रका विभिन्न बस्तीका २० मोल्वी रहेका छन् ।

मठमन्दिर, मस्जिद (इस्लाम परम्पराको नमाज पढ्ने र प्रार्थना गरिने घर) र पीरबाबाको मजारले प्रसिद्धि पाएको मटिहानी नगरक्षेत्रका मठ÷मन्दिर, मस्जिद तथा मजारमा रहेका साधु, मोल्वी र फकिरलाई न्यानो कम्बल वितरण गरिएको हो । मठमन्दिर, मस्जिद र मजारमा रहने ६० साधुले जाडोमा न्यानो कम्बल पाएपछि राहत महसुस गरेका छन् ।

“हामी साधुको भर नै श्रद्धालुजन हुन् , जाडोमा कम्बल पायौँ, अब यसैले जाडो कट्ला”, लक्ष्मीनारायण मन्दिरमा रहेका साधु शिवशरण दास वैष्णवले भने ।

यसैगरी पीरबाबा मजारका फकिर हशन अहमदले पनि जाडोमा नगरपालिकाले गरेको कम्बल सहयोगले राहत मिलेको बताए । यसैगरी ३५ वर्षीय मोल्वी तहसीन रेजाले बढ्दो जाडोबीच पाएको कम्बलले निकै राहत मिलेको प्रतिक्रिया दिए ।

मटिहानीमा मुलुककै प्रसिद्ध र जेठो लक्ष्मीनारायण मठ तथा हिन्दू परम्पराका आराध्यदेव भगवान लक्ष्मीनारायणको मन्दिर छ । यहाँको यो मठ मुलुकभरिकै मठहरुको नायक मानिन्छ । त्यसैले अन्य मठका मुख्य साधु महन्थ र यहाँका भने ‘मानमहन्थ’ भनिन्छन् । मठको प्रशासनिक प्रमुखको भूमिका ‘मानमहन्थ’ बाटै हुने व्यवस्था छ ।

मटिहानी नगरको खोजी र यसलाई आधुनिक तवरले बसोबास गराउने हिन्दू परम्पराका साधु तस्मैयाबाबा र इस्लाम परम्पराका सुफीसन्त पीरबाबा मानिन्छन् । यहाँ दुवै साधुको सम्झना र सम्मान गर्ने थिति नै बसेको मटिहानीबासी बताउँछन् ।

“मटिहानी तस्मैयाबाबा र पीरबाबाले बसाउनुभएको नगर मानिन्छ, त्यसैले यहाँका बासिन्दा दुवै साधुप्रति उच्च सम्मान व्यक्त गर्छन्” नगरप्रमुख मण्डल भने, “उहाँहरुकै कृपा र आशिर्वादले यहाँ हिन्दू र इस्लाम सधैं एकअर्काको सहयोगी भई मिलेर बस्दै आएका छन् ।”

आफ्नो नगरभित्रका हिन्दू परम्पराका अनुष्ठानमा इस्लाम धर्मावलम्बी र इस्लाम परम्पराका अनुष्ठानमा हिन्दू धर्मावलम्बी सराबरी देखिनु उनै तस्मैयाबाबा र पीरबाबाको आशिर्वाद मानिएको मण्डल बताउँछन् ।

लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, लक्ष्मीसागर र तस्मैयाबाबाको अखडा यहाँ हिन्दू परम्पराका र पीरबाबा मजार इस्लाम परम्पराका पूज्यस्थल मानिन्छन् ।

लक्ष्मीसागर रामायणकालमा रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ रहेको विश्वास गरिन्छ । इस्लाम परम्पराका सुफीसन्त पीरबाबाको मजारमा ‘मन्नत’ (कुनै पिरमर्काको पुकारा गर्न, वरदान) माग्न हिन्दू, मुस्लिम सराबरी देखिन्छन् ।

“यहाँको माटो र यसको सुगन्ध नै सद्भावपूर्ण छ, यहाँ )मटिहानी) टेकेपछि कसैको मनमा रहेको धार्मिक उन्माद पनि शीतल हुन्छ”, पीरबाबा मजारका फकिर हशन अहमद भन्छन, “यो पीरबाबा र तस्मैयाबाबाको प्रताप हो ।” मटिहानी नगर कार्यपालिकाले वर्षेनीजसो मठमन्दिर र मजारका साधुसन्तलाई न्यूनतम मानवीय आवश्यकताका कुराको ख्याल राख्ने गरेको यहाँका साधुसन्तको प्रतिक्रिया छ ।

आफ्नो नगरको मुख्य परिचय नै धार्मिक नगरीको रहेको हुँदा यो परिचय जोगाउन अहोरात्र लागि रहेका साधुसन्त मटिहानीवासीका आदर्श रहँदै आएका नगरप्रमुख मण्डलको भनाइ छ । “यहाँका साधुसन्तलाई केही गर्न पाउनु अवसर मानिन्छ, हामी त्यो अवसरको यथासक्य उपयोग गर्ने प्रयत्न गर्छौ”, मण्डलले भने ।

 प्रकाशित :-  २०८० पौष १९, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय