काठमाडौं, १८ चैत । भोली बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूर्वसन्ध्यामा लामो समयदेखि शिक्षा पत्रकारितामा सक्रिय पत्रकार प्रकृति अधिकारीले परीक्षार्थीहरूलाई उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ।
परीक्षाको तयारी गरिरहेका देशभरका परीक्षार्थीहरूलाई सम्बोधन गर्दै उहाँले उत्तरपुस्तिका परीक्षण र प्राविधिक पक्षलाई लिएर चिन्ता नलिन र केवल आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभएको हो। ‘तपाईंहरूको उत्तरपुस्तिका कहाँ परीक्षण हुन्छ, कसले र कसरी गर्नुहुन्छ भन्ने कुरामा तनाव नलिनुहोस्,’ अधिकारीले भन्नुभएको छ, ‘तपाईंहरूको भविष्यप्रति चिन्तित र जिम्मेवार शिक्षकहरूले नै इमानदारीपूर्वक उत्तरपुस्तिका परीक्षण गर्नुहुनेछ।’
पत्रकार अधिकारीले एसइईलाई हौवाको रूपमा नलिन आग्रह गर्दै यसलाई विद्यालय तहमा दिइने अन्य सामान्य परीक्षा जस्तै ठान्न परीक्षार्थीहरूलाई हौसला दिनुभएको छ। विगतमा पनि विद्यार्थीले यस्ता धेरै परीक्षाहरू दिइसकेकाले एसइईलाई पनि सहज रूपमा लिनुपर्ने उहाँको तर्क छ।
‘शिक्षकहरू आफ्नो जिम्मेवारीप्रति निकै गम्भीर हुनुहुन्छ, त्यसैले धेरै कुरा नसोचेर केवल आफ्नो अध्ययन र तयारीमा जुट्नुहोस्,’ उहाँले भन्नुभयो। देशभरका लाखौँ विद्यार्थी सहभागी हुने यो परीक्षालाई मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्नका लागि सबैको साथ आवश्यक रहने उल्लेख गर्दै उहाँले सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ।

