काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचका भरमा सुगमका अस्पतालमा ‘काज’ मा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको वास्तविक दरबन्दी भएकै स्थानमा फर्काउने अभियानलाई थप तीव्रता दिएको छ। मन्त्रालयले चैत १७ गते नवौँ र दशौँ तहका थप ७ जना विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले यसै साताको सुरुमा १४ जना चिकित्सकलाई दरबन्दीमा फिर्ता पठाएलगत्तै दोस्रो चरणमा यो नयाँ निर्णय गरेको हो। दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्न र शक्तिको आडमा वर्षौँदेखि काठमाडौं र अन्य सुगम क्षेत्रका अस्पतालमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

“पहुँचका आधारमा काठमाडौं र अन्य सुगम क्षेत्रका अस्पतालमा वर्षौँदेखि कार्यरत रहेका चिकित्सकहरूलाई उनीहरूको वास्तविक दरबन्दी भएको स्थानमा पठाएर दुर्गमका नागरिकलाई सेवा सुनिश्चित गर्न यो कदम चालिएको हो,” मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

यस पटकको निर्णयअनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पताल जस्ता ठूला केन्द्रीय अस्पतालमा काजमा कार्यरत रहेका विशेषज्ञहरूलाई सम्बन्धित कार्यक्षेत्रमा पठाइएको छ। ती चिकित्सकहरूलाई अब भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको यो सक्रियतासँगै वर्षौँदेखि विशेषज्ञ चिकित्सकको अभाव झेलिरहेका मोफसलका अस्पतालहरूमा सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ। मन्त्रालयले आगामी दिनमा पनि नियमविपरित काजमा बसेका अन्य कर्मचारी र स्वास्थ्यकर्मीहरूको हकमा समेत यस्तै कडा कदम चाल्ने संकेत दिएको छ।

 प्रकाशित :-  २०८२ चैत्र १८, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय