काठमाडौं, १८ चैत । नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल, वीर अस्पतालले सेवा प्रवाहलाई चुस्त बनाउन र कर्मचारी अनुशासनलाई कडाइ गर्न नयाँ ‘शासकीय सुधारको मार्गचित्र’ सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले तय गरेको मार्गचित्रलाई कार्यान्वयन गर्दै अस्पताल व्यवस्थापन समितिले चिकित्सक, नर्स र प्रशासनिक कर्मचारीका लागि कडा नियमहरू लागू गरेको हो।
अस्पतालको नयाँ निर्णयअनुसार आगामी २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म (हिउँदमा ४ बजेसम्म) कायम गरिएको छ। अस्पताल प्रशासनले समय पालनामा निकै कडाइ गर्ने संकेत दिएको छ। अब बिहान ९:३० बजेभन्दा ढिलो आउने र बेलुका ४:३० बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई ‘गयल’ मानिनेछ र उनीहरूको आधा दिनको बिदा कट्टी गरिनेछ। यदि कुनै कारणवश ढिलो भएमा सम्बन्धित कर्मचारीले निर्देशक सम्मिलित ह्वाट्सएप ग्रुपमा तार्किक स्पष्टीकरणसहित जानकारी दिनुपर्नेछ।
कर्मचारीहरूको निगरानीका लागि अस्पतालले प्रविधिको प्रयोगलाई व्यापक बनाएको छ। सबै विभागका इन्चार्जहरूले दैनिक डिउटी रोस्टर र कर्मचारीको उपस्थितिको जानकारी भाइबर ग्रुपमार्फत गराउनुपर्नेछ। यदि कुनै चिकित्सक वा स्वास्थ्यकर्मी आफ्नो कार्यकक्षमा नभेटिएमा सम्बन्धित विभागीय प्रमुख (HOD) लाई सचेत गराइने र सोको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइने निर्णय भएको छ। अस्पतालका कर्मचारीहरू प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रको समेत निरन्तर निगरानीमा रहनेछन्।
चिकित्सकीय सेवालाई थप जिम्मेवार बनाउन बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा चिकित्सकले आफ्नो नाम, एनएमसी (NMC) नम्बर र स्पष्ट बुझिने हस्ताक्षर अनिवार्य गर्नुपर्नेछ। यसो नगरेमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ। यस्तै, बिमा बोर्डको निर्देशनअनुसार डिस्चार्ज समरीमा सबै अत्यावश्यक सूचना स्पष्ट लेख्न निर्देशन दिइएको छ। अस्पतालको सेवालाई थप मर्यादित बनाउन सबै कर्मचारीलाई एप्रोन र परिचय पत्र अनिवार्य गरिएको छ।
अस्पतालको आन्तरिक व्यवस्थापन सुधारका लागि दुईवटा महत्वपूर्ण समितिहरू गठन गरिएको छ। सहायक निर्देशक डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा ‘एटेन्डेन्स अडिट (Attendance Audit)’ समिति र नर्सिङ प्रशासक संगिता श्रेष्ठको संयोजकत्वमा ‘क्लिनलिनेस अडिट (Cleanliness Audit)’ समिति गठन गरिएको छ। यी समितिले कर्मचारीको उपस्थिति र अस्पतालको सरसफाइको नियमित अनुगमन गर्नेछन्।
बिरामीले भोग्दै आएको फार्मेसीको समस्या समाधान गर्न औषधिको उपलब्धतालाई चुस्त बनाउने र स्टकको जानकारी प्राविधिक रूपमा सेवाग्राहीलाई दिने व्यवस्था मिलाइने भएको छ। साथै, अतिरिक्त समयमा काम गर्ने (OT/Cath Lab/Evening Round) चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (Incentive) को समेत व्यवस्था गरिएको छ।
अस्पताल प्रशासनले कर्मचारीको व्यवहारमा समेत परिवर्तन ल्याउन कडा निर्देशन दिएको छ। अब अस्पतालमा कार्यरत सबै कर्मचारीले सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्नुपर्नेछ। “रुखो व्यवहार र पुरानो कार्यशैली अब चल्ने छैन,” निर्णयमा उल्लेख छ। यो कदमसँगै वीर अस्पतालको सेवा गुणस्तरमा सुधार आउने र बिरामीले छिटोछरितो सेवा पाउने विश्वास लिइएको छ।

