काठमाडौं १५ चैत । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ ।
अस्पतालद्वारा जारी स्वास्थ्य विवरणअनुसार ओलीलाई हिजो शनिवार मुटुको धड्कन बढ्ने (पाल्पिटेसन) समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। उनी मिर्गौला प्रत्यारोपण पश्चात् बिरामी रहेको जनाउँदै हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी समस्या तथा एट्रियल फिब्रिलेसन जस्ता स्वास्थ्य जटिलताबाट प्रभावित रहेको उल्लेख गरिएको छ । साथै उनलाई पित्तथैलीसम्बन्धी समस्या (कोलेलिथियासिस) पनि रहेको बताइएको छ।
अस्पतालका अनुसार हाल ओलीलाई एनेक्स–१ को बेड नम्बर ५०१ मा राखी चिकित्सक टोलीको निगरानीमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था निगरानीमै रहेको र आवश्यक उपचार प्रक्रिया अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

