काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा. गोविन्द केसीले आइतबारदेखि नयाँ अनसन सुरु गरेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार तथा आम नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न माग राख्दै उनले तीन दिने सत्याग्रह प्रारम्भ गरेका हुन्। डा. केसीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने गैरजिम्मेवार निर्णय गरेको आरोप लगाइएको छ। उनका अनुसार यो कदम चिकित्सा शिक्षा ऐनको मर्मविपरीत छ र यसले गुणस्तरीय शिक्षा कमजोर पार्दै स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्नेछ।

उनले इलाम, उदयपुर र डडेलधुरामा तत्काल सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने तथा अघिल्ला सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। साथै, उनले लिपुलेकमा भइरहेको सीमा मिचाइको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय विषयमा समेत चासो व्यक्त गर्दै डा। केसीले युक्रेनमाथि रुसको आक्रमण र गाजामाथि इजरायलको आक्रमण तत्काल रोक्न माग गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता नगरे र पूर्व सम्झौता कार्यान्वयन नगरे स्वास्थ्य शिक्षा र सेवामा गम्भीर संकट आउनेछ।

 प्रकाशित :-  २०८२ भाद्र १५, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय