हेपाटाइटिस ए (Hepatitis A) भन्ने रोग कलेजोलाई असर पार्ने संक्रामक रोग हो, जुन Hepatitis A Virus (HAV) का कारण हुन्छ। यो रोग प्रायः दूषित खाना र पानीको माध्यमबाट सर्छ, विशेष गरी सफाइको अवस्था कमजोर भएका देशहरूमा धेरै देखिन्छ।

HAV एक non-enveloped RNA virus हो, जुन तातो, एसिड र इथरको प्रभावबाट समेत बच्न सक्ने क्षमतायुक्त हुन्छ। यसको इन्क्युबेसन अवधि औसत तीन हप्ता जति हुने गर्छ, र व्यक्ति बिरामी देखिनुअघि नै अरूलाई सर्न सक्ने हुन्छ। यस रोगको लक्षणहरू व्यक्ति अनुसार फरक-फरक देखिन्छन्।

आँखाको सेतो भाग र छाला पहेँलो हुनु (जन्डिस), गाढा रङको पिसाब, पेट दुखाइ, वाकवाकी, भोक नलाग्ने, थकाइ र हल्का ज्वरो आउने यसका लक्षणहरु हुन् । एक वर्ष मुनिका बालबालिकामा भने यी लक्षणहरू स्पष्ट नदेखिन सक्छन्, केवल वान्ता र ज्वरोजस्ता हल्का लक्षण मात्र देखिन सक्छ। शारीरिक परीक्षण गर्दा कलेजो हल्का ठूलो भएको पत्ता लाग्न सक्छ भने लिम्फ नोड र प्लीहा (spleen) पनि फुलेको देखिन सक्छ।

सामान्यतया हेपाटाइटिस ए दुई हप्तादेखि एक महिनामा निको हुने रोग हो ।  रगतमा पुरै जण्डीस निको हुन कहिलेकाहीँ ६ महिनासम्म लाग्न सक्छ । तर, थोरै प्रतिशत (एक प्रतिशत) मा गम्भीर जटिलता, जस्तै कलेजो फेल हुने (acute liver failure), देखिन सक्छ।

केही बिरामीमा रोग निको भएपछि फेरि दोहोरिने, गहिरो जन्डिस आउने वा G6PD deficiency भएका व्यक्तिमा रगत बिग्रने जस्ता अवस्था पनि देखिन सक्छन्। यस्ता अवस्थामा समयमै चिकित्सकीय सल्लाह आवश्यक हुन्छ। यस रोगबाट जोगिनका लागि सफा खानेकुरा, पिउने पानी, हातको सफाइ, र हेपाटाइटिस ए खोप अति प्रभावकारी उपाय हुन्।

रोग लागेपछि पनि आम मिथकहरूमा नपरी (जस्तै तेल, नुन वा बेसार खान नहुने भन्ने भ्रम ) वैज्ञानिक ज्ञान अनुसार खाना र हेरचाह गर्नु राम्रो हुन्छ। पर्याप्त तरल पदार्थ, फलफूल, सागसब्जी र नियमित खाना दिँदा रोगीको स्वास्थ्य छिट्टै सुधार हुन्छ। कुनै लक्षण देखिएमा तुरुन्त डाक्टरको सल्लाह लिनु नै सुरक्षित र दीर्घकालीन उपाय हो।

हाल बालबालिकामा भाइरल हेपाटाइटिस तीव्र रूपमा फैलिरहेको छ। यो रोग विशेष गरी दूषित खाना र पानीबाट सर्छ। हेपाटाइटिस हुँदा “जन्डिस” देखिने भएकाले यसको व्यवस्थापनमा विभिन्न मिथकहरू फैलिएका छन्। धेरैले सोच्ने गर्छन् कि रोग हुँदा नुन, तेल, बेसार, अण्डा जस्ता खानेकुरा रोक्नु पर्छ। तर, यो विश्वास गलत हो। जन्डिस हुँदा नुन खानामा सामान्य मात्रामा हाल्न सकिन्छ। बेसार पनि खाना पकाउँदा प्रयोग गर्न मिल्छ। तेल हालेर पकाएको खाना हानीकारक हुँदैन, सामान्य रुपमा खाइन्छ।

जन्डिस सुरु हुनु अघि बालबालिकालाई भोक कम लाग्न सक्छ, त्यसबेला तरल पदार्थ, सूप, र जुस दिनु उपयुक्त हुन्छ। जन्डिसको बेला भोक बढ्न थाल्छ, त्यसैले दाल, सागसब्जी, फलफूलसहितको नियमित खाना दिनुपर्छ। निको हुने क्रममा बच्चाको भोक सामान्य हुन्छ, र सामान्य घरको खाना दिन सकिन्छ। अण्डा, मटन र कुखुराको मासु पनि रिकभरीको समयमा दिन सकिन्छ। पानी कम गरिने धारणा पनि गलत हो; पर्याप्त पानी दिनु अत्यावश्यक हुन्छ। यी मिथकहरू हटाएर वैज्ञानिक ज्ञान अनुसार खाना र हेरचाह गर्नुपर्छ। यसले रोगी छिट्टै निको हुन्छ, र दीर्घकालीन स्वास्थ्य पनि राम्रो रहन्छ।

बच्चाको हात साबुन पानीले राम्ररी धुनुपर्छ र उमालेको वा राम्ररी शुद्ध पारेको पानी पिउनुपर्ने हुन्छ । यी र यस्ता उपायहरु अपनाएको खण्डमा बालबालिकालाई जण्डिस हुनबाट बचाउन सकिन्छ । बालबालिकालाई हेपाटाइटीस भइसकेपछि राम्रोसँग हेरचाह गर्न सकिन्छ । जटिलता भएको अवस्थामा चिकित्सकसँग परामर्श लिन सके रोगबाट हुने हानीलाई कम गर्न सकिन्छ ।

डा.पोख्रेल राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छन् ।

 प्रकाशित :-  २०८२ अषाढ ७, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय