काठमाडौंः सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि स्वास्थ्य क्षेत्रमा ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट छुट्याएकोमा यो आर्थिक वर्ष झण्डै ९ अर्व ७० करोड ९ लाख रुपैंया बढि बजेट विनियोजन गरेको हो ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् स्वास्थ्य विमा सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिने घोषणा गरेका हुन् ।
बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गर्दै लगिने बजेटमा उल्लेख छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने, वीमितहरूलाई फरक फरक पोलिसी छनौटको सुविधा उपलब्ध गराइने विषय बजेटमा समेटिएको छ । बीमा सुविधाको दुरूपयोग हुन नदिन दोहोरोपना हटाइने, चुहावट नियन्त्रण र संस्थागत सुशासन कायम गरिने उल्लेख छ । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरिएको बताए । हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाएको बताए ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ ।
सरकारले सात वटै प्रदेशमा मुटु रोग र क्यान्सर रोगको उपचार विस्तार गर्ने योजना अगाडी सारेको छ । बजेट वक्तव्यमार्फत् उच्च रक्तचाप, मुटु, मधुमेह, मृगौला, कलेजो र क्यान्सर लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत सेवा विस्तार गरिने योजना अगाडी सारेको हो । अर्थमन्त्री विष्णु पौडेलले फागुन महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ्ग गर्ने व्यवस्था मिलाइने बताए ।
अर्थ मन्त्री बीष्णु पौडेलले आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएका औषधीहरूको आपूर्ति सुनिश्चित गरिने बताएका छन् । संसद्को संयुक्त बैठकमा बजेट बक्तव्यमार्फत् अर्थ मन्त्री पौडेलले वितरण गरिएका औषधीको अभिलेख राख्ने र वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइने बताएका हुन् । उनले यसका लागि २ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
सरकारले स्वदेशमै जलनको गुणस्तरीय उपचार सेवा प्रदान गर्न सबै प्रदेशका एक–एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग स्थापना गर्ने घोषणा गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने घोषणा गरेका हुन् । कीर्तिपुर जलन अस्पताल, धुलिखेल अस्पताल, काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ, तीलगंगा र रणअम्बिका आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरीएको जानकारी दिए ।
सरकारले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गर्ने भएको छ । अत्याधुनिक स्वास्थ्य सेवाको लागि रोवोटिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै, वीर अस्पतालबाट अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको छ । कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौं उपत्यका स्थित केन्द्रीय अस्पतालमा मस्तिष्क, मेरूदण्ड तथा स्नायु रोगको गुणस्तरीय उपचारका लागि राष्ट्रिय न्युरोसाईन्स केन्द्र स्थापना गरिने बजेटमा उल्लेख छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्न पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिने विषय बजेटमा उल्लेख छ । नमुना परीक्षणका लागि नमुना विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

