काठमाडौं । नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा दायर भएको छ । नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको भन्दै मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारले आज आइतवार जारी गरेको सूचनामा भनिएको छ, “नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टर व्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम ३५ इन्टर व्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको र प्रतिस्पर्धालाई सीमित हुने गरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७७\०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्टर लकिङ टाइललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको, शिवाको विकास एण्ड ब्रदर्सवि.जी. जे.भी.ले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा न्चबथ ऋययिच को इन्टरलक ब्लकको काम गरेको देखाए तापनि अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेकोे, स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैंया नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न उपरसजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।”
डा.ठाकुर यसअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ता समेत भइसकेका हुन् ।

