काठमाडौं । नेपाल शिक्षक महासंघ र नेपाल सरकारबिच भएको वार्ता भर्खरै सकिएको छ । निर्णय गर्न मन्त्रीहरु क्याविनेट बैठकका लागि गएका छन् । शिक्षक महासंघले मन्त्रिपरषद्बाट निर्णय भएपछि सहमतिको प्रक्रिया अगाडि बढाउने बताएको छ ।
मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । जसमा सरकार सहमत भएको छ । प्रस्तावमा सबै शिक्षक–कर्मचारीको स्वास्थ्य उपचार कालागि सात ओटै प्रादेशिक अस्पताल र काठमाडौँ स्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने उल्लेख छ । यस्तै, राहत, अस्थायी÷करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो वापतको रकम अवकाशको बखत एकमुष्ठ प्रदान गर्ने विषय समेटिएको छ । प्रारम्भिक बाल विकास सहजकर्ता (बाल विकास शिक्षक) र विद्यालय कर्मचारी ( लेखापाल) को लागि खरिदार सरह दरबन्दी कायम गरी सो पद बमोजिम (प्रति महिना ३२ हजार नौ सय दुई रुपैंया उपलब्ध गराउने विषय उल्लेख छ ।
आर्थिक वर्ष २०८२ ÷ ०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरिदार सरह(१० ग्रेड), प्राथमिक द्वितीय र नि मा तृतीयको नायव सुब्बा सरह ( १० ग्रेड), माध्यमिक प्रथमको सहसचिव सरह ( ७ ग्रेड) ग्रेड संख्या कायम गर्ने विषय समेटिएको छ । स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने र लामो बिदा ( ४५ दिने ) मा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने उल्लेख छ ।
यी बुँदालाई आजै बस्ने मन्त्री परिषद्ले टुग्याउँनेछ ।

