काठमाडौँ, । स्वास्थ्य बीमा बोर्डले अव उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) विमित विरामीलाई तिराउने भएको छ ।
बोर्डले स्वास्थ्य विमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु गर्ने कार्यविधि २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने जनाएको बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले जानकारी दिइन् ।
यसअघि बोर्डमा आवद्ध भएकाले कुनै रकम तिर्नुपदैनथ्यो । विमितलाई एक लाख बराबरको उपचार खर्च विमा बोर्डले व्यहोर्ने गर्दछ ।
उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउनका लागि सहभुक्तानी प्रणाली लागु गरिएको बताइन् । “विमितहरुले अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गराउन थाले ” उनले भने, “त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर विरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौ ।”
उनका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागु हुने छ ।
प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्या सम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने विमितले १० प्रतिशत रकम तिर्न नपर्ने उनको भनाई रहेको छ ।
सहभुक्तनी प्रणाली संघीय अस्पताल, २५ शैय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल, र सवै नीजि तथा सामुदायिक अस्पतालमा लागु हुने छ ।
यस्तै अति गरिव, ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिनुपर्ने) लागु नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।
बोर्डमा हालसम्म ७४ लाख विमित भइसकेपनि करिव ४७ लाख मात्र सक्रिय रहेका छन् ।
२०७२ चैत २५ गते गुणस्तरिय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो ।
अहिले ७७ जिल्लामा लागु गरिएको स्वास्थ्य विमा बोर्डले एक लाखसम्म विमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् ।

