काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल) को कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका प्रा.डा.मोहनचन्द्र रेग्मीले आज आईतवारदेखि पदभार सम्हालेका छन् । डा. रेग्मीले आज आईतबारदेखि कार्यकारी निर्देशकको रुपमा पदभार सम्हालेका हुन् ।
नवनियुक्त निर्देशकको स्वागत र पुर्व निर्देशक प्रा.डा.विधानीधि पौडेलले आफ्नो कार्यकालमा भएको कामको बारेमा जानकारी दिन आइतवार पत्रकार सम्मेलन भएको थियो ।
सो अवसरमा नवनियुक्त निर्देशक डा.रेग्मीले विरामीहरुलाई सहज र सरल तरिकाले सेवा दिन कटिवद्ध भएर लाग्ने बताए । डा.रेग्मीले भने, ‘मेरो पहिलो प्राथमिकता विरामीमैत्री सेवा प्रवाह गर्ने हो । साना साना काम सुधार गर्दै अघि बढ्छु ।’
यस्तै कार्यक्रममा अस्पतालका पूर्व निर्देशक डा. पौडेलले आफ्नो कार्यकालमा कर्मचारीको स्थायीत्व गर्न सफल भएको बताए । उनले अस्पताल भित्रको तलवभत्ता असमानतालाई समाधान गरेको बताए । डा.पौडेलले भने, ‘अस्पतालले दिने सेवामा व्यापक विस्तार गरियो । अस्पतालमा गुणस्तर सुधार गरेकै कारण दैनिक एक हजार तीन सय देखि एक हजार पाँच सय सम्म विरामीहरु सेवाका लागि आउनुहुन्छ । रोग निदानका क्षेत्रमा अस्पतालले उल्लेखनीय प्रगति गरेको छ । ’
निजामती कर्मचारी अस्पताल विकास समितिको गत बुधबार बसेको बैठकले डा. रेग्मीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
चितवन भरतपुर १२ निवासी डा. रेग्मी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । सिभिल अस्पतालको कार्यकारी निर्देशकका लागि रेग्मीसहित डा. रुद्र मरासिनी र डा. प्रमोद यादवको नाम सिफारिस गरिएको थियो ।
सिभिल अस्पतालमा ३० वटा इमरजेन्सी सहित तीन सय नौ सञ्चालनमा छन् । अस्पतालमा एक सय ३२ जना विशेषज्ञ चिकित्सक, ५६ जना मेडिकल अधिकृत २७० जना नर्सीङ कर्मचारी, १५२ जना पारामेडिक्स र ८६ जना अन्य कर्मचारी गरि ६९६ जना कर्मचारी कार्यरत रहेका छन् । आर्थिक वर्ष २०८०—८१ म २ लाख ९४ हजार १ सय ५३ जना सर्वसाधारण बिरामीले बहिरङ्ग सेवा लिएका थिए ।

