काठमाडौं: काठमाडौं तिनकुनेमा रहेको एप्पल ईन्टरनेश्नल स्कुलका विद्यार्थीहरुले आफ्नो खाजाखर्च जोगाएर जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् ।
शान्तिनगरस्थित निः सहाय सेवा सदनमा बस्दै आएका आश्रित जेष्ठ नागरिकलाई शुक्रवार खाद्यान्न सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक यमनाथ मैनालीले जानकारी दिए । मैनालीले भने, ‘आम ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् ।जिवनका असंख्य उकाली ओराली पार गरि असिमित ज्ञान, सिप र अनुभव सगाँलेका ज्येष्ठ नागरीकलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले विद्यालयको विद्यार्थीसँग वृद्धवृद्धा अन्तर्गत परियोजनात्मक कार्य अगाडी बढाएको हो । यसलाई हामिले निरन्तरता दिन्छौँ ।’
ज्येष्ठ नागरिक भेटेपछि विद्यार्थी भन्छन्ः उनीहरुमा रहेको अथाह अनुभव, ज्ञान तथा सिपलाई सामाजिक पुँजिको रुपमा विकास गर्नुपर्छ
विद्यालयको कक्षा ६ देखि १० मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो दैनिक खाजा खर्चबाट बचत भएको रकमले खाद्यान्न सहयोग गरिएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी जेनीफर मैनालीले बताइन् । सहयोग गरिएको खाद्यान्नमा चामल, बिस्कुट, तेल, दाल, नुन र चाउचाउ रहेको विद्यार्थी मैनालीले बताईन् । सो क्रममा विद्यार्थीहरुले ज्येष्ठ नागरिकसँग भलाकुसारी गरेका थिए । उनीहरुको अनुभव र विगतको बारेमा अन्तरगं कुराकानी समेत गरेका थिए । त्यसपछि ज्येष्ठ नागरिकहरुले विद्यार्थीलाई आर्शिवादका साथै बुवा आमा र ज्येष्ठ सदस्यहरुलाई सदैव सम्मान गर्नु भन्ने सन्देश दिएका थिए ।
जेष्ठ नागरिकहरु प्रति गर्नुपर्ने सम्मान, संरक्षण, माया र ममताको भाव विद्यार्थीहरुमा जगाउने उदेश्यले विद्यालयले जेष्ठ नागरिकहरुलाई सहयोग कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक मैनालीले बताए । निः सहाय सेवा सदनमा हाल ३२ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् । जसमध्ये २५ जना पुरुष र सात जना महिला रहेका छन् । अन्तरपुस्ता ज्ञान र ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवको उपयोग गर्न उनीहरुको प्रोफाईल तयार गर्नुपर्ने विद्यार्थीहरुले बताए ।
आफ्नो जिवनका भोगाई, अनुभव, संघर्ष मात्रै नभई ज्येष्ठ नागरिकसँग रहेको अथाह अनुभव, ज्ञान तथा सिपलाई सामाजिक पुँजिको रुपमा परिवार, समाज र समग्र मुलुकले ग्रहण गर्नुपर्ने विद्यार्थीहरुले बताए ।
नेपालको संविधानको धारा ४१ म ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख भएपनि कार्यान्वयनमा आउन नसेकेको सरोकारवालाहरुको चिन्ता छ । नेपालको संविधान अनुसार ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ ।









