काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई नेपालकै पहिलो स्वस्थ सहरको मान्यता प्रदान गरिएको छ । नगरले नेपालको पहिलो स्वस्थ सहर घोषणासँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पुरस्कारसमेत प्रदान गरेको छ ।

स्वस्थ सहर घोषणासँगै नगरलाई डब्लुएचओद्वारा पाँच हजार अमेरिकी डलरसहित आज प्रमाणपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरिएको छ । संस्थाका नेपाल आवासीय प्रतिनिधि राजेश पाण्डबले स्वास्थ्य सेवा विभाग टेकुका महानिर्देशक विकास देवकोटाको उपस्थितिमा धुलिखेललाई नेपालकै पहिलो स्वस्थ सहरको मान्यता प्रदान गरेका हुन् । नगरलाई पुरूस्कारस्वरूप पाँच हजार अमेरिकी डलर प्रदान गरिएको हो ।

यसअघि सङ्गठनका प्रमुख डा. सुभाजी गुडद्वारा विसं २०८१ भदौमा धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर घोषणा गरिएको थियो ।

नगरप्रमुख अशोककुमार ब्याञ्जूले धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर घोषणा गरिएकामा खुसी व्यक्त गर्दै यसलाई काभ्रेपलाञ्चोक मात्रै नभई नेपालकै गौरवको विषय भएको बताए। उनले भने, “शहस्राब्दी दिगो विकासका १७ सूचकमध्ये नगरले शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरिसकेको छ, स्वस्थ सहरका लागि विकासमा पूर्वाधार निर्माण मात्र हो भन्ने बुझाई भएका आमनागरिक र जनप्रतिनिधिले विश्वका सूचक, मापदण्ड र नागरिकका सानासाना विषयलाई ध्यान दिएर काम गर्नुपर्ने पाठसमेत सिकेका छौँ ।”

नगरप्रमुख ब्याञ्जूले लगातार दुई वर्षदेखि नगरले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्दै सङ्गठनले ६२ दशमलप ४८ अङ्क प्रदान गरी दक्षिणपूर्व एसियाको दोस्रो तहको स्वस्थ सहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको बताए ।

नगरले सङ्गठनको मापडण्द पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरूवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेको छ ।

सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको हो । एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर भएको छ ।

यसैगरी धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य ९एसडिजी०अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । नगरले ती चार लक्ष्यको प्रतिवेदन सन् २०२४ अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेस गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो ।

नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छभने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने कामसमेत सकेको जनाएको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो । केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । नगरले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि सारिरहेको छ ।

यस्तै धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो । विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो ।

 

 प्रकाशित :-  २०८१ माघ ४, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय