काठमाडौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइ परीक्षा नतिजा सुधारका लागि कार्ययोजना बनाउने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईको उपस्थितीमा बुधबार बसेको मन्त्रालय उच्च व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै वैठकमा मन्त्रालयका महाशाखाहरु एवम् अन्तर्गतका निकायहरुमा विभिन्न समयमा गठन भएका कार्यदलहरुबाट हालसम्म भएका कार्य प्रगतिको समीक्षा गरिएको थियो । सो क्रममा शिक्षा मन्त्री भट्टराईले नागरिकसँग जोडिएका शिक्षाका कामहरूमा जवाफदेहिता हुनुपर्ने बताएकी छिन् ।
मन्त्रालयसँग सम्बन्धित नागरिकका सरोकारहरु सम्बोधनका लागि प्रदेश र स्थानीय तहहरुसँग सम्पर्क, समन्वय र सहकार्यको प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ ।
बैठकमा शिक्षा सचिव, विज्ञान सचिव, मन्त्रालयका महाशाखा प्रमुखज्यूहरू, विभागीय कार्यालयका प्रमुखहरू, तथा उच्चस्तरका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

