काठमाडौं । नेपालमा रहेका आवासीय तथा इन्टर्न चिकित्सकले लगातार ४० घण्टासम्म काम गर्नुपर्ने ड्युटी महिनाको १५ वटासम्म लगाउने गरेको पाइएको छ ।
चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा न्यूनतम सरकारी सरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनमा आवासीय तथा इन्टर्न चिकित्सकले लगातार ४० घण्टासम्म काम गर्नुपर्ने विषय समेटिएको हो ।
मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो ।
लगातार लामो समय अनिँदो रहेर सेवा दिँदा चिकित्सकको स्वास्थ्य एवम् बिरामीको स्वास्थ्य सेवामा पनि नकारात्मक असर पर्ने गरेको पाइएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७९ मा एक आवासीय चिकित्सकको ड्युटीकै समयमा ३० वर्षको अल्पायुमा हृदयाघातका कारण मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा अन्य चिकित्सकलाई पनि श्रम ऐन विपरीत अस्पतालहरुले लगातार २४ घण्टा भन्दा लामो समय ड्युटी लगाउने गरेको पनि भनिएको छ ।
आवासीय चिकित्सकको हकमा हप्ताको अधिकतम २ वटा २४ घण्टे ड्युटी मात्र गराउन मिल्ने र एकपटकमा २४ घण्टा भन्दा लामो ड्युटी लगाउन नपाइने व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ ।
एमबीबीएस÷बीडीएस चिकित्सकको हकमा एक लाखदेखि १ लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस गरिएको छ । एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि १ लाख ७५ हजार र डीएम-एमसीएच गरेका चिकित्सकको २ लाख २५ हजारदेखि २ लाख ५०,००० हजारसम्म दिन सुझाब दिइएको छ।
प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ। जसका लागि विभिन्न भत्ता सिफारिस गरिएको छ ।

