काठमाडौँ । सरकारले चीनमा बालबालिका देखिएको कडा खालेको निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा राखेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताए ।
रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनमा कडा खालका निमोनिया बालबालिका देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सवै निकायलाई सचेत गराइसकेको छ ।
उनले चीनबाट प्रवेश गर्ने सिमा नाका र अन्तराष्ट्रिय विमानस्थल रहेका हेल्थ डेक्समा चेकजाँचको कडाई गरिएको बताए ।
“चीनमा देखिएको पनि धेरै समय भयो । यदि नेपालमा प्रवेश गर्ने थियो भने पहिल्यै नै आइसक्ने थियो” उनले भने, “तैपनि हामीले अस्पताललाई तयारी अवस्था र सचेत रहन आग्रह गरेका छौ ।”
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले नेपालमा देखिएका भन्दा फरक नियोनिया र लामो समयसम्म देखिएको निमोनियाका लक्षण देखिएका विरामीको नमूना सङ्कलन गर्न समेत निर्देशन दिएको बताए ।
इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनिया रोग नेपाल भित्र्न नदिनका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसंग छलफल गरिसकेको छ ।
महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसंग छलफल गरिएको बताए ।
उनले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वास सम्बन्धि रोग रहेको उल्लेख गर्दै सवै निकायलाई सचेत बनाइएको बताए ।
“चीनमा एक्कासी धेरै बालबालिका देखिएको छ । कोरोना र मङ्किफक्सले गर्दा हामी झस्किएकोले निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सवै निकायलाई निर्देशन दिएका छौ,” उनले भने ।
उनले उक्त निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढदै गए त्यही अनुसार उपचार र रोकथामको गर्ने बताए ।
कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले नियमोनियाको उपचारको लागि तयारी अवस्थामा रहेको बताए । “हाम्रो चिकित्सकको समूह त्यस्तो खालको निमोनियाको उपचारका लागि तयारी अवस्थामा राखेका छौ,” उनले भने ।
उनका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभि) गर्दा भएको निमोनियाले बच्चाहरुका लामो समयसम्म रुवाखोकी आउने, जीउ दुख्ने, श्वासप्रश्वास सम्बन्धि, ज्वरो आउने, घ्याघ्यार गर्ने, सिंगान वग्ने जस्ता लक्षण देखिने गर्दछ ।
उनले अहिले पनि उक्त भाइरसले गर्दा विरामीको उपचार अस्पताललमा गरिरहेको भन्दै भने, “ हामी कहाँ अहिले पनि आरएसभीले गर्दा हुने विरामी छन् । तर चीनमा देखिएको कडा खालको आरएसभि हो ।”

