भरतपुर, ५ भदौ । भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने तयारी गर्दा मृत्यु भएकी सम्झना काफ्ले ढकालको मृत्युको विषयमा छानविन गर्न ९ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले भरतपुर अस्पतालका डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरेको हो ।

छानविन समितिले एकहप्ता भित्र सत्यतथ्य बुझी प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । घटनाको विषयमा थप छानविन गर्न गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सीललाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

छानविन समितिबाट प्रतिवेदन प्राप्त भए पश्चात प्रतिवेदनमा उल्लेख भएवमोजिम कारवाही अगाडी बढाउने र मृतक काफ्लेको शव भरतपुर अस्पतालबाट बुझेर लैजाने सहमति भएको छ ।

डाक्टर खतिवडाको संयोजकत्वमा भएको छानविन समितिको सदस्यहरुमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका ऐनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशाासकीय अधिकृत अन्तिम सिंजाली, पीडित पक्षका तर्फबाट अधिवक्ता रमेश काफ्ले र मन्दिरा काफ्ले सदस्य रहनुभएको छ ।

गैंडाकोट नगरपालिका वडा नं ५, ओमशान्ती मार्ग घर भई भरतपुर १२ मुनालचोकमा बस्दै आएकी ३९ वर्षीया काफ्ले ढकालको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्ने क्रममा मंगलबार मृत्यु भएको थियो ।

मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएर शव बुझ्न नमानेपछि भएको बैठकले समिति बनाउने निर्णय गरेको हो ।

 प्रकाशित :-  २०८१ भाद्र ५, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय