काठमाडौँ, २ साउन । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सुविधा थैली अन्तर्गतका सेवा सुविधा भदौबाट मात्र लागू गर्ने भएको छ ।
आजबाट स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सुविधा थैली अन्तर्गतका सेवा सुविधा लागू गर्ने भनेता पनि तयारी नपुगेको कारणले भदौ १ गतेबाट मात्र लागू गरिने बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले जानकारी दिइन् ।
उनका अनुसार स्वास्थ्य संस्थाहरुले सुविधा थैली अन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यन्वयन गर्न स्वास्थ्य संस्थाले अध्ययन र प्राविधिक तयारीका लागि व्यवस्थापन गर्न समय लाग्ने भएकोले तत्काल लागू गर्न कठिन हुने समय थप गर्न अनुरोध गरिएकाले साउन १ गतेबाट गर्ने भनिएको भदौमा सारिएको बताइन् ।
बोर्डले विज्ञहरुको सुझाव अनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दररेट कायम गरेको छ ।
नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत एक हजार २९० प्रकारका औषधि रहेका छन् । अस्पताल टिकट ५० रुपियाँ तोकिएको छ । शैय्याको प्रतिदिन २५० रुपियाँ राखिएको छ । यसअघि साधारण शैय्याको २०० रुपियाँ थियो ।
स्वास्थ्य बीमा कार्यक्रममा अन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपियाँ बराबरको योगदानको आधारमा एक लाख रुपिया सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० रुपियाँका दरले योगदान रकम थपिदै जाने र प्रति सदस्य २० हजार रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाख रुपियाँसम्म तोकिएको छ ।
विमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार ४८३ जना रहेको छ ।

 प्रकाशित :-  २०८१ श्रावण २, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय