काठमाडौँ, । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमरजेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले विमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमरजेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन् ।
उनका अनुसार बहिरङ्ग सेवा ५० रुपियाँ र इमरजेन्सी सेवा वापतको शुल्क एक सय रुपिया कायम गर्ने निर्णय गरेको छ ।
बहिरङ्ग सेवा र इमरजेन्सी सेवामा घटाइएको शुल्क यहि माघ ८ गतेबाट लागु गर्ने उनले बताइन् ।
यसअघि बहिरङ्ग सेवा शुल्क सय र इमरजेन्सी सेवा शुल्क चार सय रहेको थियो ।
यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका विमितलाई नविकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
बोर्डका सूचना अधिकारी कडेलले नियमित रुपमा स्वास्थ्य बीमा नविकरण गरेका तर बर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका विमितलाई नविकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताइन् ।
पाँच जना परिवार सम्म सदस्य भएका परिवारले बार्षिक तीन हजार ५०० रुपियाँको योगदान रकम तिरेपछि एक लाख रुपियाँसम्मको सुविधा लिन सक्ने व्यवस्था रहेको छ ।
अहिलेसम्म कुल ७४ लाख ६६ हजार सात जना बीमा आवद्ध रहेको र तिमध्ये ३४ लाख ७६ हजार ७७८ जनाले बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा लिएका र ४८ लाख ५९ हजार ५१५ जना विमितले नविकरण गर्ने गरेका छन् ।
अब बीमा आबद्ध भएको दुई महिनामा नै सेवा पाइने
यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि पाउने सेवा शुरु हुने समय पनि घटाउने निर्णय गरेको छ ।
सूचना अधिकारी कडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा शुरु हुने समय तीन महिनाको रहेकोमा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ ।
यसैगरी बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारवातको शोधभर्ना रकम दुई/दुई महिनामा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

