काठमाडौँ, ।राष्ट्रिय मानवअधिकार आयोगले सबै प्रकारका विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि एकजुट हुन सबैलाई अनुरोध गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भूकम्प लगायतका विपद्बाट मानवीय एवम् भौतिक क्षतिको न्यूनीकरणका लागि पूर्व तयारी, राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सबै निकाय बिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेपाल भूकम्पीय दृष्टिकोणले अति संवेदशील र जोखिमयुक्त देशको रुपमा रहेपनि सरकारको भूकम्प पूर्वजोखिम न्यूनीकरण कार्यमा पर्याप्त ध्यान पुग्न नसकेको आयोगको ठहर रहेको छ ।

“सरकारबाट भूकम्प सम्बन्धि विभिन्न आवधिक योजना, वार्षिक कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु सञ्चालन, जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना एवम् कार्यक्रमहरु हुँदै आइरहेका छन, ” आयोगले भनेको छ, “यद्यपि भूकम्प पूर्वजोखिम न्यूनीकरण कार्यमा सरकारको पर्याप्त ध्यान पुग्न नसक्नु र भूकम्पपश्चात् राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा विभिन्न निकाय बिच प्रभावकारी समन्वय हुन नसक्दा सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको साथै भौतिक सम्पत्तिको क्षति व्यहोर्नुपरेको आयोगले यस अघि गरेको अनुगमनबाट देखिएको छ ।”

नेपालमा आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।
२०७२ सालको विनासकारी भूकम्पले ठूलो मानविय तथा भौतिक क्षति नेपालले व्यहोर्नु परेको थियो ।
हालै जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक संरचनाको क्षेति भएको छ ।
उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको छ भने पूर्ण र आंशिक गरी ६५ हजार बढी घरहरुमा क्षति पुगेको पाइएको छ । जाडो मौसममा न्यानो घर र न्यानो लुगाकोे अभावमा सुत्केरी महिला तथा शिशुहरु, बालबालिका, जेष्ठ नागरिकहरु र दीर्घ रोगीहरु अत्यन्त कठिन अवस्थाबाट गुज्रनु परिरहेको छ ।

 

 प्रकाशित :-  २०८० माघ २, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय