एजेन्सी । जापानमा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकप्म गएको छ । बीबीसी समाचारका अनुसार नयाँ वर्ष (सन् २०२४) को पहिलो दिनमै मध्य जापानमा शक्तिशाली भूकम्प गएको हो ।
जापानको नोटो प्रान्तमा भूकम्प गएको हो । उक्त भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ।
समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्।
जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ।
एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोटो क्षेत्रमा पुगेको छ।
अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्। ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ।
भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन।

