काठमाडौँ । नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको (पहिचान) स्क्रिनिङ्ग गरेको छ ।

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ बर्ष उमेर समूह महिलामा गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी प्रशासक कविता अर्यालले स्क्रिनिङग गरिएका मध्ये ७ प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिएको जानकारी दिए ।

उनका अनुसार ललितपुर, पाल्पा, सर्लाही, महोत्तरी र रौतहट जिल्लामा उक्त स्क्रिनिङ गरिएको छ ।
सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग लक्ष्य लिएको छ ।
पाठेघरको क्यान्सर विश्वमा पाँचौ नम्बरमा र नेपालमा पहिलो नम्बरमा पर्दछ । उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट दिनमा चार जनाको मृत्यु हुने गरेको छ ।

सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि १० बर्षदेखि १४ बर्ष उमेर समूहका करिव १० हजार किशोरीलाई गत भदौ २७ एचपीभि खोप अभियान संचालन गरेर खोप लगाइको थियो ।

महिलामा असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलनका लागि ९० प्रतिशत १५ बर्षको उमेरभित्र एचपिभि खोप लगाउने, ७० प्रतिशत महिलाहरुको ३५ बर्ष उमेर एक पटक र फेरि ४५ बर्ष उमेरमा स्क्रिनिङ्ग गर्ने र ९० प्रतिशत महिलाको पाठेघरको मुखको रोगको पहिचान गरेर उपचार गर्ने लक्ष्य लिएको छ । यी लक्ष्य पुरा गर्न सक्ने हो भने नेपालमा सन् २०३० सम्ममा ३० प्रतिशत मृत्युदर घटाउन सकिने छ ।

मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९ अनुसार ३० बर्षभन्दा माथिका सामान्य महिलाको स्क्रिनिङ र एचआइभी सङ्क्रमित भएका महिलाको २५ बर्ष उमेरदेखि नै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङग गर्ने लक्ष्य लिएको छ । निर्देशिका अनुसार सामान्य महिलाको हरेक पाँच बर्षमा र एचआइभी सङ्क्रमित भएका महिलाको हरेक तीन बर्षमा स्क्रिनिङ्ग गर्ने उल्लेख गरिएको छ ।

स्त्री रोग क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरले शुरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण नदेखिने र पछि क्यान्सर बढेपछि मात्र थाहा पाउने भएकोले बताइन् ।
उनले महिनावारी नभएको वेला रगत बग्ने, यौग अङ्गबाट रगतसंगै सेतो पानी आउने, यौनसम्पर्कपछि रगत बग्ने जस्ता पाठेघरको मुखमा क्यान्सर भएपछि देखिने लक्षण रहेको बताइन् ।

उनले पाठेघरको मुखको क्यान्सर समयमा नै उपचार गरे ठिक हुने बताइन् । धेरै जसो ४० बर्ष माथिका महिलालाई क्यान्सर हुने सम्भावना रहन्छ ।

उनले पाठेघर फ्याकेपछि पाठेघरको मुखको क्यान्सर हुँदैन भन्ने गलत धारणले धेरै महिलाले पाठेघर फालेको समेत बताए । “पाठेघर फालेकालाई पनि क्यान्सर हुने सम्भावना हुन्छ” उनले भनिन् ।

उनले ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी)ले शरिरमा आक्रमण गरेको १५ देखि २० बर्षपछि पाठेघरको मुखको क्यान्सर देखा पर्ने बताए ।
“एचपिभी भाइरसलाई हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमताले भगाउने गर्दछ” उनले भनिन्, “भाइरसको कारण २० प्रतिशत महिलालाई मात्र क्यान्सर हुने सम्भावना हुन्छ ।”

एचपीभि भाइरसको कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

 प्रकाशित :-  २०८० पौष १४, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय