काठमाडौँ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले रुस देशमा छात्रवृत्ति अध्ययनका लागि जान थालेका विद्यार्थीलाई अभिभावकको अनुमतिमात्र जान दिने बताएकी छन् ।
आज मन्त्रालयमा रुस देशमा छात्रवृत्तिका लागि जान थालेका विद्यार्थी तथा अभिभावकसंगको छलफलमा उनले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिवद्धता जनाए पठाउन सकिने बताएकी हुन् ।
”अहिले रुस र युक्रेनको युद्ध चलिरहेको छ । यस्तो अवस्थामा अभिभावक मन्त्रालयसंग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमति पत्र माग्न आउनुहुन्छ भने हामी प्रतिवद्धता जनाएर पठाउन तयार रहेका छौ” उनले भनिन “दुई देशबीच युद्ध चलिरहेको वेला हामीले अध्ययन अनुमति पत्र दिन सकेका थिएनौ । परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा मात्र पठाउछौ ।”
मन्त्रालयले ति विद्यार्थी पढ्न जाने ठाउँको स्थितिबारे परराष्ट्र मन्त्रायलसंग बुझेर मात्र अध्ययन अनुमति पत्र दिन थालेको हो ।
मन्त्री भट्टराईले विदेशभन्दा नेपालकै विश्वविद्यालयको शिक्षा सुधार गर्न आफू लागि परेको समेत बताइन् ।
उनले १३ वटै विश्वविद्यालयको एउटै शैक्षिक पात्रो बनाएर समयमा नै भर्ना, पढाई र परीक्षाफल प्रकाशित गर्न आफूले सधार गर्न थालेको जानकारी दिइन ।
शिक्षा सचिव डा. दीपक काफ्लेले रुसको १२ ठाउँमा ४० जना विद्यार्थी चिकित्सा शास्त्र, इन्जिनियर लगायत विभिन्न बिषयमा विद्यार्थी छात्रवृत्तिमा अध्ययन गर्न जान थालेको जानकारी दिए । उनले रुसस्थित नेपाली राजदूतावासले पनि ति विद्यार्थी पढन जाने ठाउँ सुरक्षित रहेकोले मन्त्रालयले अध्ययन अनुमति पत्र दिने प्रक्रिया अघि बढाउने बताए ।
छलफलमा अभिभावक गंगा भण्डारीले रुसमा आफ्नो छोरीले चिकित्सा शास्त्र स्नातक तह (एमविविएस)मा छात्रवृत्तिमा नाम निकालेको हुनाले मन्त्रालयले अध्ययन अनुमति पत्र दिनुपर्ने बताए ।
उनले रुस युक्रेनले युद्धले छोरी पढ्ने विश्वविद्यालय भएको ठाउँमा प्रभाव नपर्ने भएकोले अध्ययन अनुमति पत्र दिनुपर्ने बताए ।
उनकी छोरी संस्कृति भण्डारीले रुसको मस्को स्थित पिपुल्स पे्रmन्डसिप युनिर्भरसिटीमा एमविविएका लागि जान थालेकी हुन् ।
“उक्त विश्वविद्यालयमा चिने जानेका धेरै दाई तथा दीदीहरु हुनुहुन्छ । उहाँहरुले पनि मस्कोमा कुनै युद्धको कुनै डर छैन । आउनुहोस भन्नु भएको छ,” संस्कृति भण्डारीले भनिन, “त्यसैले मन्त्रालयले हामीलाई चाँडोभन्दा चाडो अध्ययन अनुमति पत्र दिएर हामीलाई छात्रवृत्तिमा अध्ययन गर्न स्वीकृत प्रदान गरोस् ।”
भण्डारीले आफू अध्ययन गर्ने विश्वविद्यालय रहेको ठाउँमा युद्ध नभएकोले अध्ययन अनुमति पत्र दिनुपर्ने बताइन् ।
रसिया सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा परराष्ट्र मन्त्रालयले छनौट गरेपछि ति ४० जना विद्यार्थी रुस जान थालेका हुन । ति विद्यार्थी दुई बर्षदेखि ६ बर्षसम्म चिकित्सा, इन्जिनियर लगायत विषय अध्ययन गर्न जादैछन् ।
अर्का अभिभावक रामनिवास पुरीले छोराले छात्रवृत्तिमा नाम निकाले हुनाले मन्त्रालयले अध्यनय अनुमति पत्र उपलब्ध गराएर रुस जाने वातावरण निर्माण गर्नुपर्ने बताए ।
उनले विश्वको जुनसुकै ठाउँमा पनि युद्ध हुने गरेको भन्दै युद्धको नाममा आफ्ना छोराछोरीलाई अध्ययन अनुमति पत्र रोक्न नहुने बताए ।
उनका छोरा अरुणकुमार पुरी पनि एमविविएस अध्ययनका लागि रुस सरकार प्रदान गरेको छात्रवृत्तिमा अध्ययनका लागि जाने तयारीमा रहेका छन् ।
छलफलमा सहभागि सवै विद्यार्थी तथा अभिभावकले मन्त्रालयले अध्ययन अनुमति पत्र दिनुपर्ने बताएका छन् । रुसस्थित नेपाली राजदूतावासले पनि ति विद्यार्थी पढ्ने ठाउँ सुरक्षित रहेकोले अध्ययन अनुमति पत्र दिन आग्रह गरेको छ ।

 

 प्रकाशित :-  २०८१ भाद्र २०, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय