काठमाडौँ, ११ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा ‘नेपाल स्वास्थ्य सम्मेलन’ आयोजना गर्ने निर्णय गरेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सको सहभागिता हुने र उनीहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिइने छ ।
सम्मेलनमा सहभागी नेपाली स्वास्थ्य विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए ।
सम्मेलनको तयारीका लागि मन्त्रालयले डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन समेत गरेको छ । कार्यदलले दिएको सुझाव अनुसार सम्मेलनको मिति तोकिएको छ ।

