घोडाघोडी , ६ भदौ । कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको भवन निर्माण अधुरै रहेको छ । सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो ।

विसं २०७७ मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ शिलान्यास गरेका थिए । सोही अनुरुप घोडाघोडी नगरपालिका–२ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय गरेको थियो । नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाखमा दुई वर्षभित्र भवन निर्माण गनर्न २०७८ वैशाख २९ गते ठेक्का सम्झौता गरेको थियो ।

विसं २०८० वैशाखभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सम्झौताको अवधि सकिँदासम्म भवनको जग मात्रै खनिएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले बजेट अभावका कारण भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको बताए । उनका अनुसार निर्माण कार्य थाल्दा रु एक करोड प्राप्त भए पनि त्यसपछि बजेट उपलब्ध हुन नसकेको हो ।

नगर अस्पताल भवन बनाउन लागिएको जमिनको भोगाधिकार नभएकाले बजेट उपलब्ध हुन नसकेको प्रमुख रावतले बताए । उनले भने, “भोगाधिकारको फाइल तयार गरी सङ्घीय मामिला मन्त्रालयमा पठाएका छाँै ।” प्रमुख रावतका अनुसार निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएका छन् । भवन निर्माण सम्पन्न नभएपछि सो पालिकाले घोडाघोडी–२ स्थित स्वास्थ्य चौकीको भवनमार्फत नगर अस्पताल सञ्चालन गरेको छ ।

 प्रकाशित :-  २०८१ भाद्र ६, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय