काठमाडौँ, २६ साउन । डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण तीन हजार ८४ जनामा देखिएको छ ।
चार दिनमा ७२२ जनाको सङ्ख्या बढेको हो । यहि साउन २१ गते दुई हजार ३६५ जनामा देखिएको डेङ्गी रोगको सङ्क्रमण हिजोसम्म तीन हजार ८४ पुगेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला वाहेक सवै जिल्लामा डेङ्गुको सङक्रमण फैलिएको छ । सवभन्दा बढी डेङ्गी तनहुँमा ५८३ जनामा देखिएको छ ।
काठमाडौँ जिल्लामा ३०७ जनामा, कास्कीमा १६६ र झापा १३५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
बर्षाको वेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकोले डेङ्गुको सङ्क्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ ।
सरकारी अस्पतालमा डेङ्गी रोगका विरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
हैजा ४७ मा
यस्तै महाशाखाका अनुसार हैजाका विरामी ४७ पुगेका छन् ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका विरामी भेटिएको बताए ।
उनका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई जना, कैलालीमा ८ जना, प्यूठानमा दुई जना र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।
हैजा अति संक्रामक र शिघ्र फैलिने झाडापखाला भएकोले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

