गुल्मी, ९ साउन : गुल्मी दरबार गाउँपालिकास्थित पन्ध्र शय्याको अस्पताल भवन अलपत्र परेको छ । तोकिएको मितिमा निर्माण सम्पन्न गरिए पनि भुक्तानी समस्याले गाउँपालिकाको अस्पताल भवन एक वर्षदेखि अलपत्र परेको हो ।

निर्माण व्यवसायीलाई भवन निर्माण गरेको बाँकी रकम भुक्तानी गर्न आवश्यक बजेट नआएका कारण भवनको स्वामित्व हस्तान्तरणसमेत हुनसकेको छैन । जिल्लाका कतिपय पालिकामा निर्माण व्यवसायीले समयमा काम नगर्दा भवन निर्माण हुननसकेको अवस्थामा यहाँ समयमै निर्माण हुँदासमेत भवन प्रयोगविहीन छ ।

बिकोई अर्जुन न्यूलिजा जेबीद्वारा रु १२ करोड ९४ लाख ५६ हजार लागतमा गत वर्ष तोकिएको अवधि मै भवन निर्माणको काम सम्पन्न भएको अर्जुन बिल्र्डस एण्ड कन्र्टक्सनका सञ्चालक विजय खनालले बताउनुभयो । उहाँले गाउँपालिकाले सबै रकम भुक्तानी नदिए पनि भवन सम्पन्न भइसकेकाले स्वामित्व हस्तान्तरण गर्न चाहे पनि पालिकाले नमानेको बताउनुभयो ।

गुल्मीदरबार गाउँपालिका–३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन एकवर्ष अघि नै निर्माण सम्पन्न भएको हो । निर्माण व्यवसायीले रु एक करोड २० लाखभन्दा बढी रकम अझै भुक्तानी पाउन बाँकी छ ।

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले रकम निकासाका लागि मन्त्रालयमा पटकपटक पत्राचार र कुरा गरिए पनि ढिलाइ भएको जानकारी दिनुभयो । उहाँले रकम भुक्तानी गर्न बाँकी भएकाले आफूहरूले स्वामित्व नलिए पनि अब भने चाँडै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । “मन्त्रालयबाट रकम आउन ढिला भएका कारण समस्या भएको थियो । अब पालिकाबाट थोरैथोरै रकम भुक्तानी गर्ने गरी भवन बुझ्ने विचारमा छौँ”, अध्यक्ष थापाले भन्नुभयो ।

जिल्लाका अन्य स्थानीय तहमा १५ शय्याका अस्पताल भवन निर्माण भइरहेका छन् । निर्माणाधीन अवस्थामा रहेका ती भवनको काम भने सुस्त गतिमा अघि बढिरहेको छ ।

 प्रकाशित :-  २०८१ श्रावण ९, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय