काठमाडौँ, २८ असार । सेभ द चिल्ड्रेनले जलेश्वर नगरपालिकालाई महोत्तरीको नेपाल–भारत सीमानाको प्रवेशद्वार मलिवरा, भिट्टमोडमा अवस्थित नवनिर्मित स्वास्थ्य सहायता कक्ष भवन हस्तान्तरण गरेको छ ।
कोभिड–१९, एचआईभी÷एड्स, क्षयरोग र औलो जस्ता सरुवा रोगहरू नियन्त्रण गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमअन्तर्गत रु २१ लाख ५४ हजारको लागतमा कन्टेनरमा आधारित उक्त स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको समुपस्थितिमा सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमका चिफ अफ पार्टी दिपक पौडेलले जलेश्वर नगरपालिकालाई भवनको स्वामित्व हस्तान्तरण गरे । कार्यक्रममा संघीय सरकारका स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयका प्रतिनिधिहरू, मधेश प्रदेशका स्वास्थ्य सचिव एवं निर्देशकहरू, जिल्ला प्रमुख अधिकारी तथा जलेश्वर नगरपालिकाका स्वास्थ्य अधिकारीहरू र अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका ग्लोबल फण्ड कार्यक्रमका चिफ अफ पार्टी पौडेलले भने, “नेपालमा ग्लोबल फण्ड कार्यक्रमले एचआईभी, क्षयरोग र औलो उन्मूलन र कोभिड १९ नियन्त्रण गर्न सरकारका योजना तथा कार्यक्रमलाई सहयोग गर्नुे हेतुले नेपाल सरकारसँग सहकार्य गर्दैआएको छ । ठुलो संख्यामा यस नाका हुँदै नेपाली आप्रवासी मुलुकमा भित्रने गर्दछन् । यस स्वास्थ्य सहायता केन्द्रले जोखिममा रहेका आप्रवासी जनसंख्या र स्थानीय समुदायमा यी संक्रामक रोगहरुको रोकथाम र नियन्त्रण गर्नको लागि एक महत्वपूर्ण स्वास्थ्य सेवा केन्द्रको्र भूमिका खेल्ने विश्वास गर्दछु ।”
देशको प्रमुख आवागमन विन्दु वा प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरुको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवा मार्फत संक्रामक रोगको नियन्त्रण र निवारण गर्ने नेपाल सरकारको प्रयत्नमा सहयोग स्वरुप सेभ द चिल्ड्रेनले यस स्वास्थ्य सहायता कक्षको स्थापना गरेको हो ।
स्वास्थ्य सहायता कक्षले एचआईभी÷एड्स, कोभिड १९, क्षयरोग र औलो जस्ता संक्रामक रोगहरूको लागि नियमित परामर्श, परीक्षण र प्राथमिक हेरचाह सेवाहरूको एकीकृत सेवा प्रदान गर्दछ र थप उपचारको लागि प्रेषण सेवा प्रदान गर्दछ ।
यस स्वास्थ्य सेवा संरचना विशेषतः भारतबाट फर्केका आप्रवासीहरू र स्वास्थ्य सेवाबाट बञ्चित अन्य समूहरू लक्षित गरी स्थापना गरिएको हो । साथै रोगहरूको उपचार व्यवस्थापन प्रभावकारी बनाउन यस स्वास्थ्य सहायता कक्ष नेपाल सरकारको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आवद्ध रहन्छ ।
ग्लोबल फण्ड अनुदानको प्रिन्सिपल रिसिपियन्टको रुपमा सेभ द चिल्ड्रेनले नेपालमा एचआईभी÷एड्स, क्षयरोग र औलो रोग अन्त्यको लागि नेपाल सरकारसँग काम गर्दैआएको छ ।
यसअघि सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमले कोशी प्रदेशको मोरङको रानी–जोगवानी प्रवेश बिन्दुमा अवस्थित जीर्ण अवस्थामा रहेको स्वास्थ्य सहायता कक्ष भवनको १५ लाख ७६ हजार रुपैयाँको लागतमा मर्मत गरेको थियो ।
सेभ द चिल्ड्रेनले उक्त भवन गत मंगलबार कोशी प्रदेशको विराटनगर महानगरपालिकालाई उक्त भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थियो ।

