काठमाण्डौ। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाण्डौले आयोजना गरेको ‘औषधिजन्य जडीबुटी मेला’ असार ८ गते शनिबार सम्पन्न भएको छ । जडीबुटी प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार मेला आयोजना गरिएको हो । कार्यक्रममा औषधिजन्य जडीबुटीको साथै  पथ्य आहार को प्रदर्शनी समेत रहेको थियो र सो मेला १५०० नागरिकहरूले अवलोकन गरेका थिए । यसै मेलामा वनस्पति विभाग अन्तर्गतका राष्ट्रिय हर्बेरीयम विभाग, अन्नपूर्ण अनुसन्धान केन्द्र , जडीबुटी प्रशोधन केन्द्रहरू लगायत रैथाने किसान,अन्तर्राष्ट्रिय निकायहरूको प्रदर्शनी रहेको थियो ।

कार्यक्रम उद्घाटन सत्रको प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले नेपाल सरकारले औषधिजन्य जडीबुटी लगायतका विषय समेटेर आयुर्वेद क्षेत्रको रणनीति बनाउने कुरामा जोड दिनुभएको थियो। साथै औषधिजन्य जडीबुटीको लागि छुटै प्राधिकरणको औचित्यको बारेमा सकारात्मक रहेको र अगामी वर्षको नीति कार्यक्रममा प्राथमिकता साथ यसको औचित्यको बारेमा बहस मन्त्रालयले गर्ने विषयमा समेत उल्लेख गर्नुभएको थियो।  जडीबुटी प्रयोग पहिल्यै देखि भए पनि आयुर्वेदको आशातीत विस्तार हुन नसकेको उनको भनाई छ ।

‘आयुर्वेदको विस्तार सोचे जति हुन नसकेको छैन । यसमा मन्त्रालयबाट सहयोग रहन्छ नै,’ सचिव देवकोटाले भने, ‘आगामी वर्ष आयुर्वेदको सेवा साथ साथै जनशक्ति विस्तार गरिनेछ । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. दीपक तिवारीले बागमती प्रदेशले आयुर्वेदको विस्तार गर्दै जिल्लाका स्वास्थ्य केन्द्रहरूलाई चिकित्सालयको रूपमा स्तरोन्नति भईसकेको व्यक्त गर्नुभयो। उनले भने ‘स्वास्थ्य पर्यटन अभिवृद्धिका लागि योग तथा आयुर्वेदलाई प्रदेश स्वास्थ्य नीतिमा समावेश गर्न लागिएको छ । वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तले आयुर्वेद प्रति आकर्षण बढाउन जडीबुटीका अन्य निकायसँग समन्वय सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो । भारत र चीनको जस्तै नेपालमा पनि आयुर्वेदको अनुसन्धान आवश्यक रहेको उनले बताए । उनले नेपालको आयुर्वेदमा अनुसन्धान गर्न सके ठुलो टेवा पुग्ने बताए ।

वर्ल्ड वाइल्ड फण्ड कार्यक्रम का देश प्रमुख घनश्याम गुरुङले रैथाने जडीबुटीको संरक्षण तथा दिगो उपयोग कार्यमा विभिन्न कार्य भइरहेको र थप संस्थागत रूपमा काम गर्न खोजेको भनाई व्यक्त गरे । औषधि व्यवस्थापन विभागका महानिर्देशक डा नारायण ढकालले  वर्तमान प्रविधि सुहाउँदो अनुसन्धान गरेर औषधिको निर्माण तथा नियमकारी बनाउनुपर्ने कुरामा जोड दिए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सङ्गीता यादवले जडीबुटी प्राधिकरण आवश्यकता रहेको व्यक्त गर्नुभयो ।आयुर्वेद तथा वैकल्पिक चिकित्साका महानिर्देशक  प्रदीप केसीले  आयुर्वेदको उत्पादन तथा सेवामा अथक लगानी राज्यले गर्नुपर्ने जोड दिए ।

मेलामा जडीबुटीहरूको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीहरूको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइएको र सो ही विषयमा समबन्धित विषय विज्ञबाट वैज्ञानीक सत्र समेत सञ्चाल गरिएको चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् । उनले जडीबुटीहरूमा कत्तिको दिगोपन छ त्यसबारे पनि सोच्नुपर्ने बताइन् ।

कार्यक्रममा औषधिजन्य जडीबुटीको नीतिगत स्थिति, समस्या तथा भविष्यको बारेमा प्रस्तुति दिँदै कृषि, वन, औषधि विभाग एवं औषधिबिच समन्वायी सम्बन्धमा बन्न सके कृषक देखि उत्पादकमा प्रोत्साहन मिल्ने र स्वदेशी उत्पादन तथा आर्थिक अर्थतन्त्रमा टेवा पुग्ने प्रस्तुति  गरिएको थियो । वक्ताहरूले औषधिजन्य जडीबुटीको प्राधिकरणको आवश्यकतालाई नेपाल सरकारले कसरी सहजीकरण गर्न सक्छ, यसको बारेमा सामूहिक योजना बनाउन जोड दिए ।

कार्यक्रममा वैज्ञानिक सत्र डा. विजया पन्तले नेपालमा टिस्यु कल्चरको महत्त्व र सम्भाव्यता तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वनस्पति विभागकी प्रमुख डा संगिता राज भण्डारीले वनस्पतिको सही पहिचानको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसै गरी, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. राजेन्द्र ज्ञवालीले जलवायु परिवर्तनको औषधि जन्य जडीबुटीमाथि प्रभावको बारेमा प्रस्तुति गरे । वातावरण विज्ञ नरेश रिमालले औषधि जडीबुटी र खानपानका महत्वमाथि प्रस्तुति गरे ।

कार्यक्रममा बोल्दै जनस्वास्थ्यविद् अरुण उप्रेतीले आफूले जडीबुटीलाई औषधि उपयोग मा प्रयोग गर्दै आएकोले  यसको सही प्रयोगको लागि जनमानसमा जनचेतना  जगाउनु पर्ने बिचार व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्यानल संभाषामा बोल्दै डा. पुष्पराज पौडेलले जडिबुटीको सम्भाव्यता बारेमा व्यक्त गरे ।

डा. श्याममणि अधिकारी एवं डा. सरिता श्रेष्ठले आयुर्वेदलाई अझै विकास गर्नुपर्ने व्यक्त गरे ।

कार्यक्रममा पोस्टर प्रस्तुति प्रतिस्पर्धा एवं अन्य नागरिकहरूसँग औषधिजन्य जडीबुटीको बारे एवं जलवायु परिवर्तकको कारण यसमा परेको प्रभावको बारेमा छलफल भएको थियो ।

 

 प्रकाशित :-  २०८१ अषाढ १०, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय