काठमाडौँ, २५ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवज्यूले आज पुनः काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गरेका छन् । यसअघि जेठ ९ गते उनले अस्पतालको अनुगमन गर्दै विभिन्न समस्याहरू औँल्याउनुका साथै सुधारका लागि निर्देशन दिए ।

आजको अनुगमनका क्रममा उनले अस्पतालमा उल्लेख्य सुधार भएको पाएको बताए । ओपिडी व्यवस्थापनमा सुधार आएको, भिडभाड कम भएको, र रगत सङ्कलन गर्ने ठाउँलाई विस्तार गरिएको उनले जानकारी दिए। यद्यपि आइसियुमा बेड पाउन गाह्रो रहेको समस्या भने कायम रहेको बताउँदै, आइसियुको सङ्ख्या थप्न सुझाव दिनुभयो र यसलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

उनले राष्ट्रिय ट्रमा सेन्टरलाई देशकै एक महत्त्वपूर्ण अस्पतालको रूपमा वर्णन गर्दै यसको शाखाहरू देशका अन्य स्थानमा पनि स्थापना गर्नुपर्नेमा जोड दिए । । उनले भने, “देशभरका बिरामीहरूको चाप एक्लै ट्रमा सेन्टरले थेग्न सक्दैन, तपाईँहरूलाई धेरै भार परिरहेको छ। देशका अन्य स्थानमा पनि ट्रमा सेन्टरका शाखाहरू खोल्न जरुरी छ। यसका लागि म पहल गर्नेछु ।”

उनले ट्रमा सेन्टरमा भएको सुधारबाट आफू धेरै खुसी भएको बताउँदै अन्य अस्पतालहरूले पनि यसलाई अनुकरण गर्दै सुधार गर्दा अधिकांश समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

जनशक्ति अभावका कारण अस्पतालमा सेवा प्रवाहमा चुनौतीहरू रहेको बताउँदै माननीय मन्त्रीज्यूले देशभरका अस्पतालमा जनशक्ति थप्ने कार्यमा लागिरहेको जानकारी दिए। उनले नर्सिङ स्टाफको अभाव समाधान गर्न नर्सिङ स्टाफ थप्ने प्रक्रिया सुरु भएको जानकारी गराए। साथै, चिकित्सक र कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै बजेट व्यवस्थापनको जिम्मा आफूले लिने आश्वासन दिए। “तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो । कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,” उनले भने।

मन्त्री यादवले देशभरका अस्पतालहरूमा प्रयोगविहीन रहेका मेसिनहरूलाई आवश्यक स्थानमा पठाउने र त्यहाँ प्रयोगमा ल्याउने पहल सुरु गरेको जानकारी दिए । “छिट्टै तपाईँहरूले यसको अनुभूति गर्नुहुनेछ,” उनले भने।

त्यस्तै, वीर अस्पतालको आकस्मिक शाखामा देखिएको समस्यालाई समाधान गर्न माननीय मन्त्रीज्यूले नयाँ भवनमा आकस्मिक शाखा विस्तार गर्न निर्देशन दिएको जानकारी पनि गराए ।

ट्रमा सेन्टरको अनुगमन पूर्व, मन्त्री यादव त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा पनि अनुगमनका लागि पुगेका थिए । उनले अस्पतालले दिइरहेको सेवाबाट आफू प्रभावित भएको बताउँदै, आँखा अस्पतालले पेपरलेस प्रणालीको थालनी र जाँचका लागि विशिष्ट किसिमको आधुनिक उपकरणको प्रयोग गरेकोमा प्रशंसा गरे ।

आँखा अस्पतालको अनुगमनका क्रममा, त्यहाँका प्रमुखले पुरानो भवनबाट उपचार गर्न कठिनाइ भइरहेको दुखेसो पोखे। अस्पतालका निर्देशकले भवन गुठी संस्थानको जग्गामा निर्मित रहेको र यसलाई विस्तार गर्न गुठीबाट अनुमति आवश्यक रहेकोले सोका लागि पहल गर्न मन्त्री यादव आग्रह गरे। आँखा जाँच र उपचारलाई स्वास्थ्य बिमा कार्यक्रममा राख्न पनि आग्रह गरे । उनले यी आग्रहहरूमा आफू सकारात्मक रहेको बताउँदै छिट्टै समस्या समाधानका लागि काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि मन्त्री यादवले काठमाडौँस्थित वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पनि अनुगमन गरेका थिए । स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरूलाई सुधार गर्न प्रतिबद्ध उनले बिरामीहरूको उपचारमा कुनै किसिमको लापरबाही नगर्न निर्देशन दिए । उनले देशभरका गरिब जनता उपचारको आसमा पुग्ने केन्द्रीय अस्पतालहरूको सेवा सुधार्न आफू लागिपरेको बताए ।

 

 प्रकाशित :-  २०८१ जेष्ठ २५, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय