भक्तपुर, २४ जेठ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा अब्बल बन्दै गएको छ । अव कलेजो प्रत्यारोपण गर्न विदेश जानु नपर्ने भएको छ ।
केन्द्रले यो वर्ष मात्र १५ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठजानकारी दिए । उनका अनुसार केन्द्रले हालसम्म २५ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएको छ ।
केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण गरेका निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिन आज सकुशल डिस्चार्ज भएका छन् । उनलाई उनकी ५१ वर्षिय श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी थिइन । बरिष्ठ कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक समेत रहेका डा श्रेष्ठको नेतृत्वमा केन्द्रमा २५ जनाको कलेजो प्रत्यारोपण भईसकेको छ । नेपाली दक्ष चिकित्सकबाट नै केन्द्रमा कलेजो प्रत्यारोपण हुँदै आइरहेको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।
केन्द्र स्थापना भएको १२ वर्षमै देशको सबैभन्दा धेरै एक हजार २४८ जना मिर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भईसकेको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ र वार्षिक करिब २ अरब रुपैयाँ देशमै जोगिएको छ ।

