काठमाडौँ, ११ जेठ ः डेङ्गु रोगको सङ्क्रमण ५७ वटा जिल्लामा देखिएको छ । मौसम परिवर्तनसंगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानी रहेको लामखुट्टैले टोक्ने भएकोले डेङ्गुको जोखिम बढेको जानकारी दिए ।
उनका अनुसार ५७ जिल्लामा ९०४ जनामा सङक्रमणमा देखिएको छ ।
उनले पानी पनि पर्न शुरु भएकोले डेङ्गुको जोखिम बढ्ने भएकोले सचेतना अपनाउन आग्रह गरे । “पानी पर्न थालेपछिडेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ ” उनले भने, “त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्मे नदिने र लामखुट्टै मार्न अभियान संचालन गर्नुपर्दछ । ”
गतबर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।
उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण नदेखिको बताउनुभयो ।
उनले जोखिम हुने ठाउँका पहिचान गरेर लामखुट्टै मार्न अभियान संचालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभयो ।
डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
“गर्मीसंगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ,” उनले भने ।
डेङ्गु गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन ।
लामखुट्टैबाट बच्नका लागि सधै झुल टाँगेर मात्र सुत्न, खेतवारीमा कामा गर्दा लामो वाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टै भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षि व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।

