चितवन, । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी ९इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन० खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकालाई सहभागी गराइने भएको छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयरा दवाडीका अनुसार उनीहरुलाई पाँच सय १० खोप केन्द्रबाट खोप दिन लागिएको हो ।
अभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय २३ स्वयंसेविका परिचालन गरिनेछ । विसं २०७३ वैशाखदेखि २०७५ साल आसोजसम्म जन्मिएका बालबालिकालाई खोप दिइने छ । पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग पोलियोमाइलाइटिसविरुद्ध यो खोप दिन लागिएको हो ।
यस अभियानमा भरतपुर महानगरपालिकामा १९ हजार दुई सय ९४ बालबालिकालाई यो खोप दिइँदै छ । यस्तै, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ६१, कालिका नगरपालिकाका दुई हजार तीन सय ३४, माडी नगरपालिकाका दुई हजार एक सय २९ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ बालबालिकालाई खोप दिन लागिएको दवाडीले बताए ।
जिल्लाका हरेक विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिने जनाइएको छ । विद्यालयबाहिर रहेका बालबालिकाका लागि सो दिन विद्यालयमा ल्याएर वा भोलिपल्ट स्वास्थ्य संस्थामा ल्याएर खोप दिइने उहाँले जानकारी दिए ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीले यो खोपले बालबालिकाको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपर्ने हुँदा ढुक्क भएर प्रयोग गर्न आग्रह गरे। नेपालमा अहिले पोलियोको समस्या नदेखिएको भन्दै उनले देश पोलियोसँगको अन्तिम लडाइँमा रहेको बताए।

