काठमाडौँ । विश्व रेडक्रस दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा मूल समारोहको आयोजना गरी दिवस मनाइएको छ । सो अवसरमा नेपालमा पनि रेडक्रस अभियानअन्तर्गत अङ्गका प्रमुखहरूले संयुक्त रूपमा रेडक्रसको झन्डोत्तोलन गर्नाका साथै ‘जँ हेनरी ड्युना’को तस्बिरमा माल्यार्पण गरेका थिए ।
सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा यो दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राधा नेपालीले यस वर्षको विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावले ओतप्रोत हुनुपर्ने बताइन् । उनले सोसाइटीद्वारा सञ्चालित गतिविधिहरूमा मानवता झल्केको बताउँदै रेडक्रसको शिर उच्च राख्न रेडक्रसकर्मीहरू अहोरात्र लागिरहेको बताइन् ।

सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै मानवीय विपत्ति कम गर्न सरकारको सहयोगीका रूपमा क्रियाशील रहेको बताए । उनले मानवतामा देखिएका चुनौती कम गर्न सरकार र रेडक्रसलगायत संस्था एकीकृत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सोसाइटीका कोषाध्यक्ष वीरबहादुर बस्नेतले विश्व रेडक्रस दिवसका दिन रेडक्रसकर्मीहरूले आफ्ना कमीकमजोरीलाई सुधार गर्नाका साथै अभियानका सात सिद्धान्तको पालना गर्दै एकताबद्ध भई अगाडि बढ्न प्रण गर्नुपर्ने बताए।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख अजमत उल्लाले रेडक्रस अन्य गैरसरकारी संस्था (एनजिओ) भन्दा फरक रहेको बताउँदै यसले सात सिद्धान्तको पालना गर्दै विश्वव्यापी रूपमा सम्बन्धित देशको सरकारको सहयोगीका रूपमा सहयोग पु¥याइरहेको जानकारी दिए।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) नेपाल प्रमुख सन्देश श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले समुदायमा पहिलो उद्धारकर्ताका रूपमा पु¥याइरहेको सेवाको प्रशंसा गर्दै नेपालमा रेडक्रस कानुन बनाउनुपर्ने बताए। सरकारसँग समन्वय गरी कानुन बनाइनुपर्ने भन्दै यसका लागि सहकार्य र सहयोग गर्न आइसिआरसी प्रतिबद्ध रहेको उहाँले उल्लेख गरे ।

युवा रेडक्रस सर्कल ठैव ललितपुरकी सर्कल अध्यक्ष सिवानी थापामगरले मानवीय सेवा गर्दा खुसी प्राप्त हुने बताउँदै मानवीय पीडा कम गर्न र मानवतालाई जोगाई राख्न युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।

 

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा विसं २०२० भादौ १९ गते स्थापना भएको थियो । हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन् । समुदायस्तरसम्म पैmलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।

 प्रकाशित :-  २०८१ बैशाख २६, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय