तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन र काठमाडौँ पु¥याउनुपर्ने बाध्यता थियो ।

अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि प्रसूति शल्यक्रिया सेवा सञ्चालन गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए। विशेषज्ञ सेवाको अभावमा अस्पतालमा यसअघि सामान्य प्रसूति सेवा मात्र हुँदै आएको डा बरालले बताए।

“यसअघि सम्भावित जोखिमलाई हेरेर प्रसूति गराउने गर्भवतीलाई पोखरा पठाउनुपर्ने अवस्था थियो”, डा बरालले भने, “अब प्रसूति गराउने गर्भवतीलाई अन्यत्र पठाउनुपर्दैन, अस्पतालबाटै प्रसूतिको शल्यक्रियासमेत गर्न सकिन्छ ।” प्रसूति सेवा सञ्चालन गर्न विशेषज्ञ सेवा प्रवाह गर्न व्यास नगरपालिकाको कार्यालयले भत्ताको व्यवस्थासमेत गरेको डा बरालले जानकारी दिए।

गर्भवतीलाई औषधि दिएर सामान्य डेलिभरी गराउँदै आएकामा जटिल अप्रेसन गरी पाँच महिलाले शल्यक्रिया गरी शिशुलाई जन्म दिनुभएको अस्पतालका सूचना अधिकारी तथा अस्पताल नर्सिङ निरीक्षक मोनिका परियारले जानकारी दिइन् ।

“शिशु जन्माउन पनि अन्यत्र जानुपर्ने अवस्था रोकिएको छ”, नर्सिङ निरीक्षक परियारले भनिन्, “गर्भवतीका लागि दैनिक भिडियो एक्सरे, एक्सरे लगायतका सेवासमेत सञ्चालन गरिएको छ ।” अस्पतालमा अहिले दैनिक करिब ४० गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा माइनर अप्रेसन, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, महिनामा एकपटक मिर्गौला रोग विशेषज्ञबाट मिर्गौला बिरामीको स्वास्थ्य परीक्षण, दाँत, आँखा उपचार तथा फार्मेसीलगायत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 प्रकाशित :-  २०८१ बैशाख २३, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय