काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानून अनुसार कारबाही गर्ने भएको छ ।
मन्त्रालयका उपसचिव एकदेव खनालद्धारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो ।
मन्त्रालयले जारी परिपत्रमा “जनस्वास्थ्य सेवा निमायवली २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था रहेकोमा केही स्वास्थ्य सेवासंग सम्बन्धी संस्थाहरु, अटिजम थेरापी सेन्टर, वाल क्लिनिक लगायत संस्थाहरु मापदण्ड बमोजिम नभएको पाइएको” उल्लेख गरिएको छ ।
मन्त्रालयले स्वास्थ्य संस्थालाई जनस्वास्थ्य सेवा नियमावली २०७७, बमोजिम सम्बन्धित निकायबाट संचालन अनुमति लिएर एवम् स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनको पूर्ण पालना पालना गरेर मात्र संचालन गर्न अनुरोध गरेको छ ।

