कञ्चनपुर ।सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ । प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ ।

गत वर्ष आयातित औलोका बिरामीको सङ्ख्या एक सय ८४ र स्थानीय बिरामीको सङ्ख्या ३९ रहेको थियो । आयातित औलोका बिरामीमा अधिकांश भारतबाट फर्केकाहरु रहने गरेका छन् । “भारतमा कमाउन जानेहरु औलोको सङ्क्रमणमा परेपछि घर फर्कने गर्दछन्”, अधिकृत जोशीले भने, “औलोको परजीवी बोकेर भारतबाट फर्कनेलाई लामखुट्टेले टोकेर, त्यसपछि अरुलाई टोक्दा परजीवी सारेर सङ्क्रमण गराउँदछ ।”

खुला सीमा क्षेत्र भएकाले औलोको सङ्क्रमणमा परेका सिधै घर पुग्ने गर्दछन् । सीमा क्षेत्रमा रक्त परीक्षणको भरपर्दो व्यवस्था नहुँदा पनि औलो रोकथाममा समस्या रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार आयातित औलोको सङ्क्रमण रोक्नका लागि समुदायमा खोजपडतालको कार्य गरिँदै आएको छ ।

“समुदायमा भारतलगायत अन्य क्षेत्रबाट औलोको सङ्क्रमण भएर आएका व्यक्तिबारे अध्ययनको कार्य गर्छौं”, उनले भने, “बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने गरिन्छ, औलो सार्ने लामखुट्टेबारे अध्ययन र अनुसन्धानको कार्य पनि गर्दै आएका छौँ ।” यसै कारणले औलोका बिरामीको सङ्ख्या विगतको तुलनामा घट्दै गएको उनले जानकारी दिए ।
जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रममा वृद्धि भएसँगै र सडक यातायातको व्यवस्थाले तराई क्षेत्रमा पाइने लामखुट्टे हाल पहाडीदेखि हिमाली जिल्लामा पनि पाइन थालेको उनले उल्लेख गरे । औलोका दुई किसिमका परजीवी पाइने गरेको जानकारी दिँदै उहाँले जसमा प्लाज्मोडियम फाल्सीपारम र प्लाज्मोडियम भाइभेक्स रहेका छन् ।

त्यसमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीलाई जटिल प्रकृतिको मानिन्छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फेला परेका एक सय ५० औलोका बिरामीमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीको सङ्क्रमण भएका बिरामीको सङ्ख्या २० रहेको छ । अन्य एक सय ३० मा प्लाज्मोडिम भाइभेक्स परजीवी फेला परेको अधिकृत जोशीले बताए ।

जोशीले सबैभन्दा बढी औलोका बिरामी ७४ जना कैलालीमा देखा परेकामा त्यसपछि कञ्चनपुरमा २७, अछाममा २०, बाजुरामा ११, डोटीमा सात, बझाङमा दुई, बैतडीमा तीन र डडेल्धुरामा छ जना औलोका बिरामी देखा परेको बताए ।

उहाँका अनुसार सुदूरपश्चिममा औलोको उच्च जोखिममा रहेको जनसङ्ख्या २४ लाख ८६ हजार रहेको छ । औलोका बिरामी पत्ता लगाउन ९५ हजार तीन सय ५० जनाको रक्त नमूना परीक्षणको कार्य गरिएको छ । औलोको उच्च जोखिम क्षेत्रमा रहेका ८५ हजार पाँच सय ५३ समुदायमा कीटनाशक झुल वितरणको कार्य गरिएको छ ।

गर्भवती तथा जोखिम समूहका लागि ११ हजार सात सय ४६ कीटनाशक झुल वितरण गरिएको छ । औलोको सङ्क्रमण रोक्नका लागि विषादी छिड्काउबाट ५१ हजार दुई सय १७ जना लाभान्वित भएका छन् । औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । औलोबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ ।

औलो लागेमा टाउको दुख्ने, वाकवाकी हुने, वान्ता हुने हातखुट्टा तथा जोर्नी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्ने गर्दछन् । लामखुट्टेको टोकाइबाट बच्नका लागि पूरा शरीर छोप्ने लुगा लागाउने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, घर वरिपरिको पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरिको घाँसलगायतको झाडी सफा गर्ने, धुप बाल्नेलगायत गर्नुपर्दछ ।

औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार देशलाई सन् २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । यस अवधिमा औलो निवारणका लागि गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि गर्ने, औलो रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने रहेको छ ।

 प्रकाशित :-  २०८१ बैशाख १४, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय