काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’ बाट बच्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
मन्त्रालयले तराईमा तातोहावासंगै ‘लू’ चलेकोले सवैलाई बच्न आग्रह गरेको हो ।
‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, हनकनी ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट फिजिसियन डा. बिमल चालिसले गर्मीयाम बढेसंगै तराई ताता हावा चलेर ‘लू’ लाग्ने गरेको बताए ।
उनले धेरै तातो हावाले मस्तिष्क असर गर्ने भएकोले तातो हावा चलेको वेला दिउँसो घरबाहिर ननिस्कन आग्रह गरे । “धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ ।मानिसलाई वेचैन बनाउने गर्दछ” उनले भने “ शरिरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटमा समेत असर गर्दछ ।”
बच्ने के गर्ने
लूबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको सित्तल हुने कपडा लगाउने गर्नुपर्दछ ।
यस्तै खेतवारीाम वा घरबाहिर काम गर्दा विहान वा बेलुका मात्र गर्ने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काक्रो लगायत घरमै बनएका ताजा खानेकुरा खाने गर्नुपर्दछ ।
गर्नु नहुने कार्य
दिउसो सकभर घर बाहिर ननिस्कने, भान्सामा धेरै समय नबस्ने, यदि बस्न परेमा प्रशस्त्र पानी पिउने, धुम्रपान तथा मदिरा सेवन नगर्ने, क्याफिनले धेरै पिसाव गराउने हुँदा चिया, कफि, सोडा जस्तो पेय पदार्थ नपिउने गर्नु आग्रह गरिएको छ ।

