मान्म । कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्छव गाउँमा अहिलेसम्म कुनै शिविर सञ्चालन नभएकामा सोमबार गाउँपालिकाको आयोजनामा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उच्छव गाउँमा पहिलो एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न बिरामीको स्वास्थ्य जाँच गरिएको छ । गाउँमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना भएको भन्दै यस्ता शिविरमार्फत वृद्धवृद्धाले सेवा लिन सहज हुने नरहरिनाथ–७ का ७५ वर्षीया रामबहादुर बोहोराले बताए । समयसमयमा स्थानीय सरकारले यस्ता शिविर आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।
“मैले पहिलो पटक गाउँमा नै स्वास्थ्यकर्मी आएर शिविर चलाएको देखेँ”, बोहोराले भने, “अहिलेसम्म गाउँमा स्वास्थ्य शिविर सञ्चालन भएको थिएन ।”

गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले आयोजना गरेको शिविरमा अल्ट्रा साउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा बहिरङ्ग सेवालगायत स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख मानबहादुर सहकारीले बताए । उनका अनुसार शिविरमार्फत तीन सय ४२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

“शिविरमा आँखाको परीक्षणअन्तर्गत ६० जनाले सेवा लिएकामध्ये मोतियाबिन्दु तीन, एलर्जी ११ र बाँकीमा सामान्य समस्या देखियो”, प्रमुख सहकारीले भने, “गर्भवती स्वास्थ्य परीक्षण १० जनाले गरेका छन् ।” उनका अनुसार खकार जाँच ५४, एचआइभी जाँच तीन, हेपाटाइटिस बि १२, युपिटी एक र भिडिआरयल १२ जनाले परीक्षण गरेका छन् ।

बहिरङ्ग सेवाअन्तर्गत सामान्य जाँच एक सय ९० जनाले गरेका सहकारीले बताउनुभयो । उनका अनुसार हाइपरटेन्सन पाँच जनामा देखिएको थियो । उनले भने, “स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्तीमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।”

नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलोपटक उच्छव गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

 प्रकाशित :-  २०८१ बैशाख ४, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय