काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १० औं राष्ट्रिय शिखर सम्मेलनको तयारी पुरा भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज सोमबार पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारि दिएको हो । सम्मेलन चैत २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ ।
यस वर्षको सम्मेलनको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन” रहेको छ ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले विस २०७१ (सन् २०१५) देखि हरेकवर्ष परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ । सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवद्र्धधन गर्ने तथा योजना र विकासमा टेवा पु¥याउने लक्ष्य राखेको छ ।
स्वास्थ्य सम्बन्धी नीति र अभ्यासलाई मुर्तरुप दिन अनुसन्धानलाई प्रभावकारी रूपमा नीति र योजनामा पु¥याउन यस्ता सभा सम्मेलनको आवश्यकता परिषद्ले महसुस गरेको छ । सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवद्र्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू छलफल गर्न अनुसन्धानकर्ताहरू, स्वास्थ्य तथा जनसंख्याका साझेदारहरू, शिक्षाविद्हरू, चिकित्सकहरू र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउने आयोजकले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत २८ गते विहान ९ बजे समुदघाटन हुने कार्यक्रम तय भएको छ । सम्मेलनमा देश तथा विदेशबाट गरि एक हजार जनाभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता रहनेछ । साथै सम्मेलनमा भारत, स्वीजरल्याण्ड, वेलायत, अस्ट्रेलिया, सयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताको पनि सहभागि हुने छ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।

सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरु प्राप्त भएका थिए । तिमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरिएको हो ।
सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न बिषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।
यस्तै सम्मेलनमा विभिन्न १० विधामा अवार्डहरू प्रदान गरिने छ ।

सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक–एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

 

परिषद्ले यस सम्मेलनद्वारा स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको नीति, योजना तथा कार्यक्रमलाई तथ्यपरक बनाउनका लागि पैरवी गर्ने विश्वास लिएको छ । यस्ता सम्मेलनहरु नियमित रुपमा सञ्चालन गर्न सके युवा अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई अनुसन्धान गर्न प्रेरित गर्ने तथा अनुसन्धानबाट प्राप्त नतिजा र निष्कर्षहरुको प्रचार प्रसार हुने अपेक्षा परिषद्ले राखेको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले बताए ।

 

 

 

 प्रकाशित :-  २०८० चैत्र २६, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय