चैनपुर । बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकि थिईन् । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिईन् ।

रोग र गरिबीसँग लड्दै आउनुभएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पनामात्र । सुरुमा रोगको बेवास्ता गरेकी उनले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा कविता साहसँग सम्पर्क गरिन् । आङ खस्ने समस्याले पीडित उहाँले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पार्न वाध्य भइन् ।
रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कँदा रोगले च्याप्दै गएको थियो । “धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए”, उनी भन्छीन्, “पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।”

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो । गत साता डा साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताईन् । उनले भनिन्“दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो । खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो ।” लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उहाँले बताउनुभयो । उनले भनिन्, “मेरो समस्या सुनेर घरपरिवारमात्रै होइन, आफन्तसमेत हैरान भएका थिए । अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो छाएको छ ।”

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो । तल्लो पेट दुख्ने, महिनाबारी गडबडी हुने, महिनाबारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उनले शल्यक्रिया गरेपछि समस्याबाट मुक्ति पाएकी छिन् ।
जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा साहको बुझाइ छ । “महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुनसक्छ । सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान् ? ” उनले भने ।
डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन् । “म आएको दुई महिना हुन लाग्यो । दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ । पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न ।” यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उहाँको अनुमान छ ।

दुई महिनाको बीचमा डा साह आएदेखि दुईजना महिलाको सफल शल्यक्रिया भइसकेको छ । “म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो । एक जनाको अर्को साता गर्ने तयारी छ”, उनले भने ।
डा. साह गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेका बताउँछन् । “जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो । आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन् । आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन् ।”

डा. साह बझाङ आएपछि भने बिरामीहरूले केही आशा पलाएको छ । आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उनिहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा धिरज विशङ्खले बताए । उनले भने, “महिलाको शल्यक्रिया निकै जटिल प्रकृतिको भए पनि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले सफल पारेको उहाँले सुनाउनुभयो ।”

 प्रकाशित :-  २०८० चैत्र ११, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय