काठमाडौँ, १ चैत । आज विश्व मिर्गौला दिवस मनाईने गरिन्छ । “मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मुल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईँदै छ ।
बरिष्ठ मिगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बढ्दो उमेरसँगै देखिने मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताए ।
विश्वमा कुलजनसङ्ख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुने गरेको छ । सोही अनुसार नेपालमा पनि करिव ३० लाख जनालाई मिर्गौला सम्बन्धि कुनै न कुनै रोग रहेको उनी बताउँछन् । उनका अनुसार नेपालमा तीन लाख जनाको मिर्गौला विग्रन थालेको, ३० हजार जनाको नराम्रो विग्रिसक्यो र तीन हजार जना मिर्गौला रोगको अन्तिम चरणमा रहेको छ । उनले ति तीन हजार जनाको मिर्गौलाको प्रत्यारोपण वा डायलासिस गरेर मात्र उपचार सम्भब रहेको बताए ।
उनले सरकारले मिर्गौला रोगको उपचारमा केन्द्रीत भएपनि महङ्गो उपचारका कारणले सर्वसाधारणको पहुँच पुग्न नसकेको बताए । सरकारले मिर्गौलाका विरामीका लागि नि:शुल्क डायलासिस र प्रत्यारोपण गरेको छ । साथै डायलासिस र मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक पाँच हजार समेत दिने गरेको छ । “सरकारले मिर्गौलाका विरामीको उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा डायलासिस नि:शुल्क पुर्याएको छ” उनले भने, “हामी उपचारमा केन्द्रीत भएका छौ । तर रोकथाम भएन ।”
बर्षेनी ८ हजारले डायलासिस गर्ने गरेका छ्न् ।
मिगौला विग्रेको कसरी थाहा पाउने
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेका अनुसार पिसावमा प्रोटिन गएपछि र रगतमा क्रियाटिनिन बढ्यो भने मिगौला विग्रने गर्दछ ।
मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मिर्गौलाले रगत उत्पादन गर्न काम गर्नुका साथै भिटामिन डी र क्याल्सियमलाई सन्तुलन मिलाएर राख्ने काम मिर्गौलाले गर्छ । मिर्गौलाले शरीरबाट नचाहिने तत्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने गर्दछ । मिर्गौलाले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मिर्गौला विग्रेको भन्ने बुझिन्छ । ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेले मिर्गौला विग्रपछि मात्र उपचार आउने गरेको बताउँछन् । “शुरुको अवस्थामा मिर्गौला विग्रेको विरामीलाई थाहा हुदैन जव मिगौला विग्रिसकेको हुन्छ अनिमात्र विरामी अस्पतालमा आउने गर्दछन,” उनले भने, “मिगौलाको शुरुको चरणमा पत्ता लगाएर उपचार गर्न पाइयो भने उपचार सम्भव हुन्छ ।”
उनले सवैको बर्षमा एक पटक अनिवार्य रुपमा पिसाव परीक्षण गराउनुपर्ने सुझाव दिन्छन् ।
मिर्गौला प्रत्यारोपण नै यसको उपयुक्त उपचार
मिर्गौला विग्रपछि डायलासिसभन्दा प्रत्यारोषण गर्नु नै उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।
डायलासिस गरेपछि मानिसले काम गर्न नसक्ने र हप्तामा दुई तीन पटक डायलासिस गर्नुपर्ने हन्छ । जसले गर्दा महङ्गो पर्ने जान्छ । तर मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले काम गर्न सक्छ । र जीवन पनि सहज हुन्छ ।
सरकारले मिर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने गरेको छ । तर मिर्गौलाको प्रत्यारोपणका लागि विरामीलाई काठमाडौ आउनुपर्ने वाध्यता रहेको छ । नेपालमा सरकारी अस्पतालमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नि:शुल्क मिगौला प्रत्यारोपण गरिन्छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा डायलासिसभन्दा प्रत्यारोपण गर्नु उपयुक्त रहेको बताउँछन् । बर्षमा तीन सय जनाको मिर्गौला प्रत्यारोपण हुने गर्दछ ।
उनका अनुसार केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको प्रत्यारोपण हुने गरेको बताउनुहुन्छ । केन्द्रले अहिलेसम्म एक हजार २१६ जना प्रत्यारोपण गरिसकेको उहाँ बताउनुहुन्छ । वीर र शिक्षण अस्पतालले सन् २००८ देखि मिर्गौला प्रत्यरोषण शुरु गरेका हुन् । केन्द्रमा अहिले दैनिक १४० जनाको डायलासिस हुने गरेको छ ।
निजी अस्पतालमा मिर्गौला प्रत्यारोपणगर्नका लागि १२ देखि १८ लाख रुपिया लाग्ने गरेको छ । नीजि अस्पतालमा नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल, किष्ट अस्पताल लगायतमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।
वरिष्ठ मिगौला रोग विशेषज्ञ डा. काफ्लेका अनुसार स्वच्छ जीवनशैली अपनाउनु नै मिर्गौला रोगबाट बच्नु हो । । माछा, मासु, दुध र दही कम खाने, असन्तुलित खाने कुरा नखाने, दैनिक दश हजार पाइला हिड्ने, प्रसस्त पानी र सागहरु खानुपर्ने सुझाव उनको रहेको छ ।
यस्तै अत्यधिक मात्रामा दुखाईका औषधिको प्रयोगले पनि मिर्गौलालाई असर गर्दछ ।
लक्षण
पिसावको मात्रा घट्नु । अनुहार र आँखाका डिल सुन्निनु, शरिर सुन्निनु, पिसावको मात्रा, गन्ध र रङ्गमा परिवर्तन आउनु जस्ता समस्या देखिने गर्दछ । यस्तै शुरुमा थकान महसुस हुने, रगत कमि हुने, वाकवाक लाग्ने, फोक्सोमा पानी जम्मा भएपछि श्वास फेर्ने समस्या हुने जस्ता मिगौला खरावीका लक्षण हुन् ।
बच्ने उपाय
प्रशस्त्र मात्रामा पानी पिउनुपर्दछ । सन्तुलित खाना खानुपर्दछ । मिर्गौलामा रोग लाग्ने नदिन नियमित रुपमा मधुमेह, पिसाव परीक्षण गराउनुपर्दछ । आफ्नो इच्छाले एन्टिवायोटिक औषधि खानु हुदैन ।

