चितवन, २६ फागुन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो ।
नेपाल औषधि उत्पादक संघ (एपोन) का उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोमा सोचेभन्दा राम्रो दर्शकको उपस्थिति रहेको छ । उनले भने “हाम्रो अपेक्षाभन्दा धेरै दर्शक एक्स्पोमा आउनु भएको छ । चितवन सहित बाहिरी जिल्लाबाट समेत दर्शक आईरहनु भएको छ ।” आफूहरुले तीन दिनको अवधिमा २५ हजारले अवलोकन गर्ने अपेक्षा गरेकोमा यो संख्या बढ्ने उहाँको अनुमान छ ।
एक्स्पो अवलोकन गर्न आउनु भएका नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की आम सर्वसाधारण पनि एक्स्पोमा आउनु पर्ने बताउँछन् । उनले भन्नुभयो “आफू बिरामी हुँदा कस्तो औषधि खाईरहेका छौं ? नेपाली औषधिको गुणस्तर कस्तो रहेछ रु औषधि कसरी बन्दो रहेछ रु औषधि बनाउन के के प्रविधिको प्रयोग हुँदो रहेछ ? भन्ने कुरा यहाँ आएपछि प्रष्ट हुन्छ ।”
एक्स्पो अवलोकनपछि उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम आफू औषधिका विषयमा जानकार नभएपनि औषधि उद्योगका लागि आवश्यक पर्ने विचारदेखि लिएर व्यवहारसम्म र उद्योगदेखि उत्पादन हुँदै बजारीकरणसम्मको ज्ञान यहाँबाट पाईएको बताए । उनले औषधि र औषधिजन्य उद्योग व्यवसायमा काम गर्ने सोच भएकाहरुलाई पनि एक्स्पो फलदायी हुने बताए ।
एक्स्पोमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । मेडिकल शिक्षासँग विज्ञानका विद्यर्थीहरुले एक्स्पो रुचिपूर्वक अवलोकन गरिरहेका थिए । कलेज तथा विद्यालयहरुले विद्यालयकै बसमा विद्यार्थी अवलोकनका लागि ल्याईरहेका छन् ।
भोलिसम्म सञ्चालन हुने एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले औषधि उद्योगका लागि आवश्यक पर्ने मेसिन, उपकरण, प्रयोगशाला, कच्चापदार्थ, प्याकेजिङ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ ।
एक्स्पोका संयोजक प्रभात रुङ्गटाले यहाँ अवलोकन गरेर फर्किएका सर्वसाधारण नेपाली औषधिप्रति विश्वस्त भएर फर्किएको बताए । नेपाली औषधि उद्योगले पनि विदेशी उद्योग सरह कच्चा पदार्थ, मेसिन र उपकरण प्रयोग गर्दा रहेछन् भन्ने कुरा छर्लङ भएको धेरै प्रतिक्रिया पाएको उनको भनाई छ ।

