काठमाडौं ।काठमाडौं महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन्।
उक्त कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ ? निदान कसरी गर्न सकिन्छ ? यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिए। कुष्ठरोग समयमै पहिचान गर्नसके औषधि सेवनबाट निको हुने उनको भनाइ छ।
संस्थाले बिहीबार काठमाडौं महानगरपालिका–२६ मा उक्त कार्यक्रम सञ्चालन गरेको थियो।
“कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो। उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ”, निर्देशक सिंहले भने।
एनएलआरले हालसम्म कामपा–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ। आगामी दिनमा वडा नं ६, ७, ८, ९ र १७ वडामा उक्त कार्यक्रम सञ्चालन गरिने सिंहले बताए।
कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापितले आव २०७९÷८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका जानकारी दिए। उनका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा नौ सय ४४ रहेका छन्।
काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य कुष्ठरोगको बारेमा जनचेतना जगाउने र समुदायमा रहेको भ्रम हटाइ सामाजिक लाञ्न्छनाको गलत धारणा परिवर्तन गर्नु रहेको मुख्य प्रशिक्षक गोपाहरि पोखरेलले बताए ।
एनएलआरले पहिलो चरणमा काठमाडौं-का विभिन्न १० वडाका तीन सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ।

