चितवन, । चितवनमा फागुन २५ गतेबाट हुने नवौं फर्मा एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल औषधि उत्पादक संघ एपोनले आयोजना गरेको एक्स्पोबारे आज भरतपुरमा पत्रकार सम्मेलनमार्फत् तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले एक्स्पो हामीले विदेशीबाट सिक्ने र विदेशीले हामीबाट सिक्ने ठाउँ भएको बताए। उनले एक्स्पोमा विदेशी विज्ञ प्राविधिकहरु, उपकरण उत्पादक, सरकारी प्रतिनिधि लगायतका पाहुनाहरुको उपस्थिति रहने जानकारी दिंदै विदेशीहरुलाई नेपाली औषधि उद्योगको अवलोकन समेत गराईने बताए ।

उनले नेपालको औषधिमा गुणस्तरमा कुनै कमी नरहेको बताउँदै विदेश समेत निर्यात हुँदै आएको जानकारी दिए । उनले यसै एक्स्पोमा समेत कतिपय देशबाट यहाँको औषधिका बारेमा चासो दिएर अवलोकनका लागि आउँदै गरेको जानकारी दिए ।

संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको छ ।

संघका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले देशको केन्द्र भागमा रहेको चितवनमा पुन: फर्मा एक्स्पो गर्न पाउँदा गौरवान्भित भएको जनाउँदै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको उनको भनाई छ । उनले भने “साधारण नेपाली जनताले औषधि कसरी बन्द, औषधिको गुणस्तर कस्तो छ ? भन्ने कुरा जान्न र आफ्नो देशका औषधि उद्योगले कसरी अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेका छन् भन्ने कुरा एक्स्पोबाट जानकारी प्राप्त गर्न सक्दछन् ।”

सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी गराउनु आफूहरुको अर्को उद्देश्य रहेको उनको भनाई छ । उनले भने “विश्वस्तरीय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा नै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको अर्को पाटो रहेको छ ।”

काठमाडौँमा नै एक्स्पो गर्न दवाव भईरहेको समयमा आफूहरुले चितवनमा आयोजना गरेको भन्दै रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो गर्न चितवनमा प्रदर्शनी, होटल लगायतका सेवा सुविधा रहेको बताए । उनले चितवनको पर्यटकीय क्षेत्रमा पनि ठूलो प्रभाव पार्ने बताउँदै चितवनवासीले एक्स्पोलाई माया गरेर सफल बनाउने विश्वास व्यक्त गरे ।

कोभिड–१९ महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण नेपाली औषधि उद्योगको कारोबार घट्दै गएको संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोअर्डिनेटर सन्तोष बरालले बताए ।

आर्थिक बर्ष २०७८/०७९ नेपालमा नेपाली उद्योगीहरुको झण्डै रु। ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर आव २०७९/०८० मा रु। २९ अर्ब ३६ करोड मात्र कारोबार गर्न पुगेको बरालले जानकारी दिए । उनले भने “सरकारले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि खरिद गर्नलाई छुट्टै मापदण्ड नबाइदिने हो भने हाम्रो आकार आगामी दिनमा अझै घट्दै जानेछ ।”

उनले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने भन्दै भने, “सरकारी तवरबाट खरिद गर्ने औषधि १० स्वदेशी उद्योगले उत्पादन गरेको छ भने त्यस्तो उत्पादन स्वदेशी मात्रै खरिद गर्ने नीति सरकारले बनाउनु पर्छ ।” यसो गरिएको खण्डमा स्वदेशी उद्योग फस्टाउने र मुलुकका लागि चाहिने औषधि स्वदेशी उद्योगले उत्पादन गर्न सक्ने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा संघका महासचिव सुदर्शन खयागुलीले नेपाली औषधि गुणस्तरीय मात्रै नभएर असरदार पनि रहेको बताए । उनले भने“नेपाली औषधि गुणस्तरीय मात्रै होइन, असरदार पनि रहेको छ ।” समय समयमा गुणस्तरको प्रश्न उठ्ने गरेको भन्दै उनले विदेशी प्रविधि, कच्चा पदार्थ र डब्लुएचओको मापदण्ड अनुसार नै नेपाली औषधि उत्पादन भईरहेको बताए ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ ।

नेपालका औषधी उद्योगको विकास लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल चिकित्सक संघ, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल फर्मासिटिकल्स एसोसिएसन, नेपाल औषधि ब्यबसायी संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल फर्मासिटिकल्स डिलर एसोसिएसन र स्वास्थ्य पत्रकार मंच बीच समन्वय र सहकार्य गरिने आयोजकले जनाएको छ ।

नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन् ।

नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको अवलोकन चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगी र सर्वसाधारण गरी करिव २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

यस एक्स्पोले भरतपुर भ्रमण बर्षलाई थप उर्जा र सहयोग प्रदान गर्ने आयोजकको अपेक्षा रहेको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ता एक्स्पोमा आउने भन्दै यसले यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउने आयोजकको भनाई छ ।

२५ गते बिहान ७ बजे चितवन प्रदर्शनी केन्द्रबाट प्रभातफेरी कार्यक्रम हुनेछ भने बिहान १०:३० बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पो अवधिभर विभिन्न गोष्ठी, सेमिनार, तालिमहरु सञ्चालन हुनेछन् ।

 प्रकाशित :-  २०८० फागुन २३, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय