ताप्लेजुङ, । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।

ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात रहेका छन् । यहाँ आयोजित तीन दिने नि:शुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उनलाई अभिनन्दन गरिएको हो ।

मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका डा. रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याएका हुन् । यहाँ आयोजित शिविरमा उहाँ नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो ।

कार्यक्रममा डा रुइतले नेपाल नेत्र ज्योति सङ्घ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानपनप्रति आभार व्यक्त गर्नुभयो । गृह जिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने उहाँले प्रतिबद्धता जनाए ।

नि:शुल्क आँखा शिविरले जीवनमा उज्यालो

झण्डै तीन वर्षपछि आँखाको दृष्टि पुन:स्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५, का ५५ वर्षीय बमप्रसाद योङहाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाविन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाउनुभएका योङहाङ पुन: उज्यालो जीवनमा फर्किएपछि खुशियाली छाएको हो । योङहाङको दुवै आँखाको शल्यक्रिया भएको थियो ।

फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी छन् । केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी उनले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भए । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएका छन् ।
ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाविन्दुका कारण ज्योति गुमाएका एक सय ५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । नेत्र ज्योति सङ्घले फुङलिङ नगरपालिका र सेवा फाउण्डेशनसँगको सहकार्यमा तथा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शिविर सञ्चालन गरेको हो ।

 प्रकाशित :-  २०८० फागुन १९, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय