काठमाडौं । सीतापाईलास्थित ज्योति एकेडेमी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सोमबार संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा अवलोकन गरेका छन् ।
विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले संघीय व्यवस्थापिका सञ्चालन प्रकृयाबारे अवलोकन गरेका हुन् ।
यस्तै, उनीहरुले सांसद्सँग प्रतिनिधि सभा सञ्चालन प्रकृया र समसामयिक विषयमा जिज्ञासा राखेका थिए । अध्ययनपछि विद्यार्थीहरुले कानुन निर्माणमा संघीय संसद्को भूमिका अतुलनिय रहने भन्दै यसका कार्य र संसदीय अभ्यासबारे ज्ञान प्राप्त भएको बताए ।
विद्यालयका प्रधानाध्यापक गोवीन्द पंगेनीले सैद्धान्तिक विषयलाई प्रभावकारी सिकाइका लागि प्रत्यक्ष रूपमा संसद्मै विद्यार्थी ल्याइएको बताए । त्यसका लागि विद्यालयले संघीय संसद् सचिवालयसँग अनुमति मागेको थियो ।
‘कक्षाकोठामा पढ्ने कुरा प्रत्यक्ष देख्दा सिकाइ उपलब्धि प्रभावकारी हुन्छ,’ उनले भने, ‘यहाँ आएको देखेको कुरा विद्यार्थीले बिर्संदैनन् ।’
विद्यार्थीहरुले संसद्मा हुने छलफल, सभामुख तथा सांसदको भूमिका, विधेयक प्रस्तुत र त्यसमाथिको छलफल हेर्ने मौकासमेत पाए ।




