काठमाडौँ, । काठमाडौँ स्वास्थ्य कार्यालयले काठमाडौँ जिल्लामा रहेका करिव छ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने भएको छ ।
कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.भुवन पौडेलले पाँच लाख ९७ हजार ३०५ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने जानकारी दिनुभयो । उहाँले ति वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्बाट खोप दिइने बताए ।
पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । विहान १० बजदेखि दिउँसो ४ बजेसम्म खोप संचालन हुने छ ।
उनका अनुसार सवभन्दा बढी काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका रहेका छन् ।
काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बुढानिलकण्ठ, चन्द्रागिरी र किर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यहि फागुन १६ देखि २९ सम्म खोप अभियान संचालन हुने छ ।
खोप अभियानमा ३३२ जना स्वास्थ्यकर्मी र तीन हजार एक जना स्वयसेवक परिचालन गरिने छ ।
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुम वाहेकका ७५ जिल्लामा खोप अभियान संचालन गर्दै छ ।
भारतसंग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका र ५१ जिल्लामा नौ महिनादेखि ५ बर्ष मुनिका बालबालिकालाई खोप दिइने छ ।
काठमाडौँ दादुरा रुवेलाको अति सङ्क्रमित जिल्लाको रुपमा रहेको छ त्यसैले काठमाडौँ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका सवै बालबालिका खोप लगाइने छ ।
गत बर्ष काठमाडौँ जिल्लामा दादुरा रुवेला फैलिदा २२५ जनामा सङ्क्रमित र एक जनाको निधन भएको थियो । गतबर्ष १९ जिल्लामा दादुरा– रुवेला महामारीको रुपमा फैलिएको थियो ।

 

 

 

 प्रकाशित :-  २०८० फागुन ११, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय