काठमाडौं : काठमाडौं विश्वविद्यालयले आयोजना गर्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमाप्रधानमंत्री पुष्पकमल दाहालले बिहिवार उद्घाटन गर्दै छन् । उक्त कार्यक्रम बिहिवारदेखि शनिवारसम्म चल्नेछ ।
यसै सन्दर्भमा बुधबार विश्वविद्यालयको धुलिखेल परिसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विश्वदिद्यालय संघका अध्यक्ष प्रा.डा. जी डी शर्माले भारतभन्दा पहिलो पटक आयोजना गर्न लागिएको यस बृहत् प्राज्ञिक सम्मेलनले सामूहिक उन्नयनको बाटो पहिल्याउने बताए ।
यसैगरी, पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले यस किसिमको बृहत्तर प्राज्ञिक कार्यक्रम आयोजना गर्न पाउनु नेपालको समग्र उच्च शिक्षा क्षेत्रमा कोशेढुङ्गा साबित हुने बताए । पत्रकार सम्मेलन लगत्तै लोक साङ्गीत समूह कुटुम्बले साङगीतिक प्रस्तुति दिएको थियो ।
बुधबार नै धुलिखेल परिसरमा कला संकाय अन्तर्गत आर्ट एण्ड डिजाइन कार्यक्रमका विद्यार्थीले निर्माण गरेको काठमाडौं विश्वविद्यालयका सातवटै संकायको विशेषता झल्कने ४२० फिट लम्बाइ तथा २ फिट चौडाइ भएको टेराकोटा मुरल कलाको पनि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत उच्च शिक्षा अधिकारीबाट अनावरण भयो ।
भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति रहनेछ । उक्त कार्यक्रममा भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्राडा जी डी शर्माले अध्यक्षीय सम्बोधन गर्नेछन् । कार्यक्रमको समाप्ति मन्तव्य भने केयुका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गर्नेछन् ।
यसैगरी कार्यक्रममा भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, अखिल भारतीय तकनीकी शिक्षा परिषदका अध्यक्ष डा अभय जेरे, राष्ट्रिय मूल्यांकन एवं प्रत्यायन परिषद वेङ्गलुरुका निर्देशक प्रा गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषदका निर्देशक डा आर सी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा पंकज मित्तल तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले सम्बोधन गर्ने कार्यसूचि छ ।
कार्यक्रममा हालसम्म भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जनाको सहभागिता निश्चित भएको छ ।
विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् ।
अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहित गर्नेछ । साथै, सभा साझा सन्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा सावित हुनेछ । सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरू, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरू बीच सांस्कृतिक विचार आदान प्रदानलाई पनि बढावा दिनेछ । सभाको अवधिमा सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्नेछन् । जसमा, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरु समावेश छन् ।
अन्तर्राष्ट्रिय उपकुलपति सभामा मुलतः तीन मूल विषहहरूमा छलफल हुनेछन् । पहिलो विषय International Collaborations and Partnerships: Building bridges for Higher Education रहेको छ, जसमा सहभागीहरूले अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम, र प्राज्ञिक साझेदारीका फाइदाबारे छलफल गर्दै उच्च शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका साझा मार्ग निर्माणमा केन्द्रित हुनेछन् ।
दोस्रो विषय Global Higher Education Policy and Regulation: Harmonizing Standards मा नियमन र नीति निर्माणका साझा मुद्दाहरु, जस्तै, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता विषयहरूमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता सहित आगामी कार्यदिशा पहिल्याउने प्रयास हुनेछ ।
यसैगरी, तेस्रो विषय Student Mobility and Diversity: Enhancing International Experiences मा विद्यार्थी गतिशीलता र त्यसको विविधताका अन्तर्राष्ट्रिय अनुभवका बारेमा छलफल हुनेछ । छलफल विद्यार्थी आदानप्रदान कार्यक्रमहरु प्रवर्धन गर्ने तरिकाहरूमा केन्द्रितहुनेछ, जसमा विश्वविद्यालयमा समावेशीता, सदासयता र सांस्कृतिक विविधताका विविध पक्षको शैक्षिक वातावरण विकास गर्दै वैश्विक तादात्म्य खोज्ने कार्य हुनेछ । आ–आफ्ना विशिष्ठिकृत अनुभव र दृष्टिकोणकोलाई उच्चाशिक्षाको साझा समृद्धिमा रुपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्नु अन्तर्राष्ट्रिय उपकुलपति सभाको मुख्य उद्देश्य हो ।
भारतीय विश्वविद्यालय संघ एक लामो ऐतिहासिक विरासत भएको संस्था हो । यसको स्थापना सन् १९२५ मा बम्बई विश्वविद्यालयका उपकुलपतिरउच्च शिक्षा अधिकारीहरूको बैठकमा अन्तर–विश्वविद्यालय संगठनको रुपमा भएको हो । पछि, सन् १९६७ मा समाज दर्ता ऐन, १८६० अन्तर्गत यसले एक समाजको रूपमा कानुनी मान्यता प्राप्त ग¥यो र सन् १९७३ मा भारतीय विश्वविद्यालय संघ नामकरण गरियो ।
यसमा नेपालबाट काठमाडौं विश्वविद्यालय लगायत बाङ्लादेश, भुटान, काजकस्तान, मलेसिया, मरिसस, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र बेलायतका देशका १३ विश्वविद्यालय र संस्थाहरू एसोसिएट सदस्य छन् । यस कन्सोर्टियमको प्रमुख उद्देश्य विश्वविद्यालयहरूको समसामयिक सरोकारहरूमा छलफल गर्दै उच्च शिक्षाको विकास र विकासमा सक्रीय रूपमा संलग्न हुनु हो ।
सम्मेलनले नेपालका विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीहरूलाई करिब १०० भारतीय विश्वविद्यालयका प्राध्यापकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र ती विश्वविद्यालयहरूले उपलब्ध गराएको अवसरहरू बुझ्ने अवसर प्रदान गर्नेछ । १०० भारतीय विश्वविद्यालयहरूले लगभग ५००० शैक्षिक र व्यावसायिक कार्यक्रमहरू, आविष्कारहरू, र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्नेछन् ।
दुबै देशका प्राध्यापक र विद्यार्थीहरूले पारस्परिक अनुसन्धान सहयोग, प्राध्यापक र विद्यार्र्थी आदानप्रदान, ट्विनिङ कार्यक्रमहरू, संयुक्त र दोहोरो डिग्री आदिमा अन्तरक्रिया र विचार विमर्श गर्ने अवसर पाउनेछन् र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आफ्ना आविष्कारहरू र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने अवसर पाउनेछन् ।
शिखर सम्मेलनले दुवै देशका विश्वविद्यालयबीचको सहकार्य र ज्ञान आदानप्रदानलाई बढावा दिनुका साथै भारत र नेपालबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ ।

